भद्रपुर, ४ मंसिर–प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ अन्तरगत झापामा आज १३८ जना कैदीबन्दीले मतदान गरेका छन् ।
जिल्ला कारागार झापामा रहेकाको मतदान केन्द्रमा एक सय ३५ पुरुष र तीन महिलाले मतदान गरेको सहायक मतदान अधिकृत होमनाथ गौतमले जानकारी दिनुभयो । उक्त मतदान केन्द्रमा एकसय ३८ कैदीबन्दी र दुई जना कर्मचारी गरी एक सय ४० जनाले मतदान गरेका हुन् ।
समानुपातितर्फको प्रतिनिधिसभाका लागि जिल्ला कारागारको मतदान केन्द्रको मतदान दिउँसो १ः०० बजे सम्पन्न भएको छ । झापा कारागारमा १४३ कैदीबन्दी मतदाता रहेका थिए । जिल्ला कारागारमा महिला, पुरुष र बालबालिका गरी एक हजार चार सय भन्दा कैदीबन्दी रहेका छन् ।
झापामा कैदीबन्दीसहित कर्मचारी, प्रहरी, सेना, अन्य गरी छ हजार २४२ जना अस्थायी मतदाताले समानुपातिकतर्फ मतदान गर्ने निर्वाचन कार्यालय झापाका प्रमुख निर्वाचन अधिकृत तुलसी नेपाले जानकारी दिनुभयो ।
