सुनसरी, १० मंसिर–जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार राई कार्तिक महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गरेको भन्दै डिएसपी राईलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको हो ।
विभागीय मुल्य मान्यता, निर्देशनको पालना गरी व्यवसायिक र कर्तव्यनिष्ठ तवरले उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले सम्मान गर्दै आएको छ ।
डिएसपी राई व्यवसायिक र काविल प्रहरी अफिसर मानिन्छन् । यसअघि, जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रमुखको रुपमा पनि उनले उत्कृष्ट काम गरेको भन्दै स्थानीयहरुले प्रशंसा गरेका थिए ।
