दमक, ११ मंसिर–प्रदेश १ मा ५६ वटा प्रदेश निर्वाचन क्षेत्र छन् । जसमध्ये ४७ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको छ भने ८ निर्वाचन क्षेत्रबाट मत परिणाम आउन बाँकी छ।

पछिल्लो मत परिणामअनुसार प्रदेश १ मा अघिल्लो निर्वाचनबाट निर्वाचित भएर ५ वर्षे कार्यकाल बिताइसकेका १३ जना सांसद पुनः प्रदेशसभामा दोहोरिने देखिएको छ भने अन्य १५ सांसद भने चुनावी प्रतिस्पर्धाबाट ‘रिङ आउट’ भएका छन् ।

यी हुन् पुनः ‘रिङ आउट’ मा पर्ने सांसददेखि वहालवालामन्त्री र उपसभामुखसम्म

अघिल्लो प्रदेशसभामा नेपाली काँग्रेसका संसदीय दलका नेतासमेत रहेको राजीव कोइराला मुख्यमन्त्रीको अपेक्षासहित चुनावी मैदानमा थिए।

उनी यसपटक भने अपेक्षाअनुसार जित हात पार्न सकेनन्। कोइराला सुनसरी क्षेत्र नम्बर २ (ख) बाट पराजित भए।

पूर्वसामाजिक विकासमन्त्री एमालेका नेता जीवन घिमिरे काँग्रेसका पूर्वमेयर भीम पराजुलीसँग पराजित भए। उनी मुख्यमन्त्रीको अपेक्षासहित मोरङ ४ (ख) बाट चुनाव लडेका थिए।

हालका प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव साविककै निर्वाचन क्षेत्र मोरङ ५ (ख) बाट पराजित बने। प्रदेश १ का कृषिमन्त्री झलकबहादुर मगर झापा ४ (क) बाट पराजित भए।

अघिल्लो निर्वाचनमा समानुपातिक सांसद बनेकी निवर्तमान उपसभामुख सरस्वती पोखरेल सुनसरी ३ (क) बाट पराजित बनिन्। ​ओखलढुंगा (क) बाट एमाले नेता अम्बिरबाबु गुरुङ पराजित बने।

एमालेबाटै सांसद बनेका उत्तमकुमार बस्नेत साविक निर्वाचन क्षेत्र सोलुखुम्बु (क) बाट पराजित बने। प्रदेश १ का हालका यातायात तथा सञ्चारमन्त्रीसमेत रहेका उपेन्द्रप्रसाद घिमिरे पनि पराजित बने।

माओवादी केन्द्रका निवर्तमान सांसद कुशल लिम्बू मोरङ १ (क) बाट पुनः दोहोरिने चाहनासहित चुनावी प्रतिस्पर्धामा थिए तर उनको पुनः प्रदेशसभाका लागि संसदीय यात्रामा ब्रेक लाग्यो अर्थात उनी पनि पराजित भए।

अघिल्लो निर्वाचनमा समानुपातिक सांसद बनेकी माओवादी नेतृ कुशुमकुमारी श्रेष्ठ धनकुटा (ख) बाट पराजित भईन्।

एमाले नेता तेजमान कन्दङ्बा तेह्रथुम (ख) पराजित बने। माओवादी नेता पूर्णप्रसाद राजवंशी झापा ३ (ख) बाट र एमालेका सन्तकुमार बानिया पनि झापा ३ (क) बाट पराजित बने।

अघिल्लो संसदमा एमालेबाट समानुपातिक सांसद बनेकी बसन्तीदेवी यादव मोरङ ५ (ख) बाट पराजित बनिन्। अघिल्लो कार्यकालमा समानुपातिक कोटाबाट सांसद बनेकी नेकपा एकीकृत समाजवादीकी नेतृ सरिता थापा संखुवासभा (ख) बाट पराजित बनिन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *