दमक, १४ मंसिर–दमकको दक्षिणी क्षेत्रमा अवस्थित इन्द्रेणी तालको प्रचार–प्रसार र पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको ‘एड्भेन्चर कम्बो र मिनी म्याराथुन’ लगायत अन्य विभिन्न खेल प्रतियोगिता’ सम्पन्न भएको छ । कार्तिक ६ गतेदेखि सुरु भएको प्रतियोगिताको आज (बुधबार) ‘एड्भेन्चर कम्बो र मिनी म्याराथन’तर्फका बिजेताहरुलाई इन्द्रेणी ताल परिसरमा एक कार्यक्रमबीच पुरस्कृत गरिएको छ ।
दमक–१० मा अवस्थित इन्द्रेणी तालको प्रचारप्रसार गर्न आयोजित प्रतियोगिताको एड्भेन्चर कम्बोतर्फ प्रथम मेघराज राई, दोस्रो किरण लिम्बु र तेस्रो साजन अधिकारी भएका छन् । राईले नगद रु ५० हजार नगद, शिल्ड र प्रमाणपत्र पाएका छन् भने दोस्रो हुने लिम्बु र तेस्रो हुने अधिकारीले क्रमशः रु २५ हजार र रु ५ हजारसहित शिल्ड र प्रमाणपत्र पाएका इन्द्रेणी युथ क्लबका अध्यक्ष सुवास सुवेदीले जानकारी दिएका छन् ।

सुवेदीका अनुसार मिनी म्याराथुनतर्फ प्रथम किरण लिम्बु, दोस्रो ओसन राई, तेस्रो याङ्गदेब राई र सान्तावना महिलातर्फ रुपा राई भएकी छन् । उनीहरुलाई क्रमशः रु २० हजार, रु १० हजार, रु ५ हजार र रु २ हजारसहित शिल्ड र प्रमाणपत्र वितरण गरिएको थियो ।
‘एड्भेन्चर कोम्बो इभेन्ट’ अन्तर्गत सहभागीले ५ मिनेट समयमा ३० मिटर बनाना ट्री रन, ९० मिटर साइकिलिङ रन, २० मिटर मङ्की वाक, ३० मिटर वेट क्यारी (पुरुष ५० र महिला ४०), बेलुन कलेक्सन २० मिटर, जिपलाइन ७० मिटर, हिल क्लाइम्ब, बम्बो वाक, बोट क्रावलिङ, टेबल रन ३० मिटर र बर्जर हिट चरण पार गर्नुपर्ने आयोजक समितिका अध्यक्ष गोपाल राईले जनाए ।

इन्द्रेणी तालको पहिचान, आन्तरिक पर्यटन प्रवद्र्धन र स्वरोजगार वृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिने इभेन्टमा एड्भेन्चर कम्बो र मिनी म्याराथुनको समापन कार्यक्रममा दमक नगरपालिकाका नगर प्रमुख राम थापाले खेलकुदको माध्यमद्धारा दमक नगरी र इन्द्रेणी तालको प्रचार प्रसारमा जुट्न आग्ह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख थापाले ‘एड्भेन्चर कम्बो’ साहसी खेल भएको र यस्तो खेल वा प्रतियोगिता दमकमा पनि सम्भव छ भनेर दमक–१० का युवाहरुले गरेर देखाइएिको भन्दै खुशी व्यक्त गरे । उनले आगामी दिनमा इन्द्रेणी तालको विकास र यसको प्रचारप्रसारमा नगरपालिकाको तर्फबाट र आफ्नो व्याक्तिगततर्फबाट सकारात्मक सहयोग रहने बताए ।

इन्द्रेणी ताल संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष गोपाल राईको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाई, दमक १० का वार्ड अध्यक्ष राजेन्द्र भण्डारी, बक्सिङ खेल झापाका उपाध्यक्ष तथा प्रशिक्षक कुमार मगर, नेपाली कांग्रेस दमक सभापति प्रकाश प्रसाई, नेकपा (एकीकृत समाजवादी) दमकका नेता हरिकृष्ण पौडेल, हिमालय टाइगर क्लबका अध्यक्ष रेवतराज भण्डारी, पत्रकार अनिलदेब राई, नगेन्द्रमणी न्यौपाने, हिमशिखर टेलिभिजन दमकका अध्यक्ष ध्रुब न्यौपाने, दमकका पुराना रङ्गकर्मी भानुभक्त न्यौपाने, युवा सामाजिक अगुवा बिनोद ढकाल, छबि सिटौला, उदय दाहाल लगायतको उपस्थिती थियो ।
इन्द्रेणी ताल संरक्षण तथा व्यवस्थापन समितिका सचिव लोकेश न्यौपानेले स्वागत गरेको कार्यक्रममा एडभेन्चर कम्बो खेल सम्बन्धी प्रतियोगितामा सहभागि खेलाडीहरुलाई कमल दाहालले सो खेलको प्रदर्शनी गरेका थिए । कार्यक्रमको सञ्चालन सुवास सुवेदीले गरेका थिए ।

