डुडामारी (शिबसताक्षी), २३ मंसिर–सानो टेलरिङ व्यवसायबाटै दुई छोरासहित आफ्नो दैनिक जीवन गुजारा गरिहेका झापा शिवसताक्षी–८ डुडामारी चौकका बोन टिबीबाट पीडित इन्द्रकुमार दर्जीको उपचारमा स्थानीयले साथ र सहयोग मात्रै गरेनन् । कमजोर आर्थिक अवस्थाका बोन टिबीबाट पीडित इन्द्रकुमार दर्जीको जीवन रक्षाका लागि स्थानीय युवाहरुले बचाउ अभियान सञ्चालन गरेर उनलाई नयाँ जीवन दिएका छन् ।
आर्थिक अभावकाबीच उपचार गर्नलाई अस्पतालसम्म पुग्न नसकेका इन्द्रकुमारलाई डुडामारी र आसपासका युवाहरुले इन्द्रकुमार दर्जी बचाउ अभिायन सञ्चालन गरेका पत्रकार तथा अभियानकर्मी गोविन ल्वागुनले बताए । स्थानीय पदमसुन्दर भण्डारीको संयोजकत्वमा अभियान गठन गरिएको र सो अभियान मार्फत देश–बिदेशबाट आर्थिक सहयोग सङकलन भएको पत्रकार ल्वागुनले जानकारी दिए ।
शुक्रबार, डुडामारी चौकमा इन्द्रकुमार दर्जी बचाउ अभियान समितिले उपचारमा सङ्कलित रुपैयाको आय–ब्यय सार्वजनिक गरेको छ । केही समयअघि मात्रै धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बोन टिबीको सफल उपचारपछि डुडामारीस्थित भाडाका घरमा फर्केका इन्द्रकुमारको उपचारको क्रममा सङकलित रुपैयाबाट रु ५ लाख ५५ हजार १ सय ३८ बचत रहेको छ । अभियान टोलीका सदस्य तथा डुडामारीका सामाजिक अगुवा जसबहादुर तामाङका अनुसार रु ८ लाख १५ हजार ६ सय ३२.८१ सङ्कलन भएको र रु २ लाख २८ हजार २ सय ५० खर्च भएको छ ।
रनु मोते (अमेरिका)– १,२१०००, अमेरिकामा कार्यरत बिनोद परिवार र निरा शिवाको पहलमा– १,२६०६६, डुडामारी युग समितिबाट– १,०५०००, रुथ रणपहेली (युके)– ५०,०००, जमुना रणपहेली (नागाल्याण्ड)– ५०,०००, लावर परिवार अमेरिका– ४६,९७९।८१, इलाम गाउँबाट– ३५,१९५, ज्योती चर्चबाट– ३०,००० लगायतका संघसंस्था, व्याक्ति र नाम नखुलेकोबाट जम्मा रु ८,१५,६३२.८१ सङ्कलन भएको हो ।
डुडामारीस्थित जन आस्था बचत तथा ऋण सहकारी संस्थामा रु ५ लाख ५२ हजार, एनआईसी एशिया बैंक झिलझिले शाखामा रु १८ हजार, इसेवामा रु १५ हजार, पीडित इन्द्रकुमारलाई क्रमशः रु १३ हजार र १० हजार बुझाइएको अभियान टोलीका सदस्य तामाङले जानकारी दिनुभयो ।
अभियानकर्मी तामाङले इन्द्रकुमारको थप उपचारको क्रममा वा फलोअपका निम्ति धरान अस्पतालमा आउदा–जादा लाग्ने खर्चलाई छुट्याइएको र सो रुपैया डुडामारीस्थित सहकारी संस्थामा राखिने जानकारी दिए । त्यस्तैं, अन्य रुपैया चाहि निश्चित अवधीका लागि बचत गरिनेछ, तामाङले भने–’दुई छोराको लालन–पालन र शिक्षाको निम्ति सो रुपैया परिवारले खर्च गर्न सक्नेछन् । हाल घरैमा स्वास्थ्य सुधारका लागि रेष्ट गरिरहेका इन्द्रकुमारले व्यवसाय सञ्चालन गर्न सक्ने भएपछि सो रुपैयाबाट व्यवसायमा खर्च गर्न सक्ने छन् ।’
बोन टिबीबाट पीडित इन्द्रकुमारको जीवन संगिनी केही समय अघि बैदेशिक रोजगारीको क्रममा खाडी मुलुक पुगेकी छन् । यता, इन्द्रकुमारको उपचारमा स्थानीय युवाहरुले नै आलोपालो गरेर अस्पतालमा हेरचार गरेको र त्यसक्रममा खर्चमा मितव्यवता अपर्नाएको अभियानकर्मी तामाङले बताए । तामाङले उपचारको क्रममा उपस्तालमै रहेर इन्द्रकुमारलाई साथ–सहयोग गर्नेहरु युवाहरु र आर्थिक सहयोग गर्नेहरुप्रती धन्यवाद तथा आभार व्यक्त गरे ।
अभियानका सहसंयोजक गोपाल कुवँरको अध्यक्षता र शिबसताक्षी–८ की वार्ड सदस्य टीकामाया बिश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अभियानका संयोजक पदमसुन्दर भण्डारी शारिरिक अस्वास्थ्यको कारण कार्यक्रममा आउन नसकेपछि सहसंयोजको अध्यक्षतामा आयब्यय सार्वजनिक गरिएको सचिव गंगा ओझाले सो क्रममा जानकारी दिए ।
