भद्रपुर, २३ मंसिर–झापाको बाह्रदशी गाउँपालिका–२ की पाँच वर्षीय बालिका मनिषा बुढाथोकी यतिबेला मुटुसम्बन्धी रोगले पीडित बनेकी छन् ।
मुटुमा गम्भीर समस्या देखिएपछि बालिका मनिषाको काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण मनिषाको उपचार गर्न समस्या भइरहेको पिता प्रेमबहादुर बुढाथोकीले बताउनुभयो ।
“झापा र विराटनगर अस्पतालहरुमा देखाएँ, उपचार हुन सम्भव भएन”, उहाँले भन्नुभयो,-“मुटुमा प्वाल रहेको थाहा पाएपछि डाक्टरको सल्लाह अनुसार शहिद गंगालाल हृदय केन्द्रमा उपचार गराइरहेको छु ।” आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या परेको उहाँको भनाइ छ ।
हालसम्म उपचारका क्रममा रू ५० हजार खर्च भएको उहाँले बताउनुभयो । उपचारका लागि करिब रू दुई लाख ५० हजार लाग्ने उपचारमा संलग्न चिकित्सकले जनाएको उहाँले बताउनुभयो । “अस्पतालमा बेड खाली नभएरका पुस ४ गते भर्ना गर्ने र पुस ६ गते शल्यक्रिया गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो,-“त्यतिबेलासम्म कोठैमा राखेर उपचार गरिरहेका छौं, आर्थिक अवस्था कमजोर भएकाले मनकारीहरुबाट सहयोग पाउने अपेक्षा गरेका छौं ।” आर्थिक अवस्था नाजुक भएकाले नै बाध्य भएर आफूले सहयोगको अपिल गरेको उहाँको भनाइ छ ।
बालिकाको उपचारका लािग सहयोग गर्न इच्छुकहरुले प्रेमबहादुर बुढाथोकीको प्राइम बैंकमा रहेको बैंक खाता नं- १०००००५४ पठाउन वा मोबाइल नम्बर ९८१६९२३९९१ मा सम्पर्क गर्न सकिनेछ ।
