झिलझिले, १ पुस–सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास समितिको नयाँ नेतृत्व चयनका लागि शनिबार (भोली, पुस २ गते) निर्वाचन हुने भएको छ ।
आगामी तीन बर्षका लागि १२ पदमा २९ जनाले उम्मेद्वारी दिएका छन् । अध्यक्ष–१ जना, उपाध्यक्ष–१ जना, सचिव–१ जना, सहसचिव–१ जना र कोषाध्यक्ष–१ जनासहित सदस्यमा ८ जना निर्वाचित हुनुपर्ने छ ।
अध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ भने उपाध्यक्ष पदमा ४, सचिवमा ३, सहसचिवमा ३ जनाको उम्मेदवारी परेको छ । यसअघि, कोषाध्यक्ष पदमा भने मदन अधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् ।
त्यस्तै, खुल्ला सदस्यतर्फ १२ जनाको उम्मेदवारी परेको छ । ६ पदका लागि १२ जनाको उम्मेदवारी परेको हो भने महिला सदस्यतर्फ ४ जनाको उम्मेदवारी परेको छ । चार जनाबाट २ जना छनौट हुने निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष पदमा उम्मेदवारी दिनेहरुमा तुलाराम बोखिम, प्रसाद सुब्बा र रुद्रमणी भट्टराई छन् । उपाध्यक्ष पदका उम्मेदवारहरुमा उदयप्रकाश राई, कृष्णप्रसाद खरेल, पर्वत थुलुङ र पर्शुराम खतिवडा छन् ।
सचिव पदका लागि कालीप्रसाद रिजाल, कृष्ण कुमार श्रेष्ठ र नारायण अधिकारी छन् । त्यस्तैं, सहसचिव पदका उम्मेदवारीहरुमा गणेश श्रेष्ठ, झमक बहादुर गौतम र नेत्रप्रसाद तिम्सिना छन् ।
यता, खुल्ला सदस्यहरु पदका लागि कुवेर प्रसाद लुइटेल, कृष्णचन्द्र सेलिङ (सेलिङ केसी), खड्ग बहादुर थापा, गणेश भेटुवाल, गंगाधर तिम्सिना, डम्बर बहादुर दाहाल, डिकबहादुर बुढाथोकी, पर्शुराम खरेल, मिलन कुमार राई, योगनिधि बाँस्तोला, शैलेन्द्र चापागाई (समिर) र श्यामलाल गिरीको उम्मेदवारी परेको छ ।
महिला सदस्यतर्फ उम्मेदवारी दिनेहरुमा उमादेवी लुईटेल, तारादेबी प्रसाई, तारादेबी मेहता र निर्मला यादब छन् ।
सताक्षीधामममा १ हजार ६३ जना मतदाताहरु छन् । शनिबार बिहान ८ बजेबाट अपरान्ह ३ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुने भएको छ । मतदान सम्पन्न भएपछि सोही साँझबाटै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । मतदानमा सहभागि मतदाताले आफ्नो परिचय खुल्ने (नागरिकता, लाइसेन्स, मतदाता कार्ड लगायत) साथमा हुनुपर्ने निर्वाचन समितिले जानकारी गराएको छ ।
