काठमाडौं, ३ पुस–नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरैकै दिन आज सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार माओवादी केन्द्रले औपचारिक रुपमै प्रधानमन्त्री आफ्नै दलले पाउनुपर्ने दाबी गरेका छन्।
आज बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकका निर्णय सुनाउँदै प्रवक्ता डा प्रकाशशरण महतले अबको प्रधानमन्त्रीमा पनि शेरबहादुर देउवाको विकल्प नरहेको बताए। पार्टीभित्र र बाहिर सबैले स्वीकार गर्ने तथा समन्वय गर्ने नेतृत्व आवश्यक परेकाले सर्वसम्मत नेता चयन गर्नुपर्ने उनको भनाई थियो।
बुधबारसम्ममा संसदीय दलको नेता चयन गर्न कांग्रेसले आज सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ।
प्रधानमन्त्री पत्नी आरजु देउवा राणाले पनि प्रधानमन्त्रीमा देउवाकै सम्भावना रहेको बताएकी छन्। निर्वाचन आयोगबाट समानुपातिक सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीलाई उनले पार्टीको संसदीय दल र संसदमा पनि ठूलो संख्या भएकाले देउवा नै प्रधानमन्त्री हुने जिकिर गरिन्। माओवादी अध्यक्ष प्रचण्डले दाबी गर्नु स्वाभाभिकै भए पनि छलफलबाट प्रधानमन्त्री को हुने टुंगो लाग्ने उनले बताइन्।
तर सत्ता साझेदार नेकपा माओवादी केन्द्रले भने अबको प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने दाबी गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि उपमहासचिव जनार्दन शर्माले अबको सरकारको नेतृत्व कसले गर्छ भन्ने पत्रकारको प्रश्नमा प्रचण्डकै नाम लिए।
सकेसम्म प्रचण्डलाई मनाउन प्रयास हुने कांग्रेस प्रवक्ता डा महत बताउँछन्।
गठबन्धन फुटाउन एमाले सक्रिय
उता संसदको पहिलो र तेस्रो दलले प्रधानमन्त्री दाबी गरेपछि प्रतिपक्षी दल नेकपा एमालेले यसैलाई अवसरको रुपमा सदुपयोग गर्ने योजना बनाएको छ। हिजोसम्म प्रतिपक्षमा बस्ने बताएको एमाले आजदेखि गठबन्धन तोड्न सक्रिय भएको छ।
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ कांग्रेससँग वा माओवादीसँग मिलेर भए पनि गठबन्धन तोडेरै छाड्ने जिकिर गर्छन्।
रास्वपा सरकारमा सहभागी हुनसक्ने
संसदमा चौथो दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौं शक्ति बन्न सफल राप्रपासँग पनि दलहरूले अनौपचारिक छलफल शुरु गरेका छन्।
भोलि संसदीय दलको नेता चयन गर्न लागेको स्वतन्त्र पार्टीले पनि हालसम्म सरकारमा जाने नजाने निधो गरिसकेको छैन। पार्टीका प्रवक्ता मुकुल ढकाल आफूहरूका एजेन्डा कार्यान्वयन हुने सम्भावना रहे सरकार जान सकिने बताए।
स्वतन्त्र पार्टीले अहिलेसम्म एमाले र माओवादीसँग छलफल गरिसकेको छ। पार्टी सभापति रवि लामिछानेले शीर्ष नेताहरूले ‘वान टु वान’ भेटवार्ता गरिरहेको सुनाए।
ठूला दलसँग औपचारिक छलफलको अफर नआएपछि राप्रपाले भने आफू प्रतिपक्षमै बस्ने बताएको छ। राप्रपाबिना सरकारै बन्न नसक्ने अवस्था भए राप्रपा बाहिरै बसेर भए पनि समर्थन गर्न सक्ने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए।
