काठमाडौँ, ५ पुस–सुख्खा मौसम शुरु गएर नदीहरुमा जल सहत घट्न थालेपछि नेपालले भारततर्फ बिजुली निर्यात रोकेर आयात थालेको छ । चिसो बढ्दै जाँदा काठमाडौं उपत्यकालगायत शहरमा विद्युत् माग बढ्नु र नदीमा पानीको बहाव घट्न थालेपछि निर्यात रोकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरुबाट उत्पादन कम हुन थालेपछि विद्युत् निर्यात बन्द गरी आयात थालिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । घिसिङले देशभित्रको उत्पादन घट्दा हिउँद यामका करिब चार महिना विद्युत् माग धान्न भारतबाट आयात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।

घिसिङले वैशाख अन्तिम वा जेठको पहिलो हप्ताबाबाट फेरि विद्युत् निर्यात शुरु हुने बताए । ‘देशभित्रको उत्पादन घट्दा आन्तरिक माग धान्न दैनिक रुपमा विद्युत् आयात सुरु भएको छ, आयात करिब ४ महिनासम्म रहने प्रक्षेपण छ, तर आयात परिमाण निर्यात भन्दा कम हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने । यस वर्षबाट निर्यात बढी र आयात कम हुने उनले बताए ।

यस वर्ष जेठ १९ देखि पुस ३ गतेसम्म भारतलाई बिजुली बेचेर नेपाल विद्युत् प्राधिकरणले ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् निर्यात गरी साढे ६ महिनामा सो रकम आम्दानी भएको हो । प्रााधिकरणले जेठ १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् विद्युत् बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।

शुरुमा दुई जलविद्युत केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री शुरु गरिएको थियो । जेठ २७ गतेदेखि ६ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा बिक्री गरिएको थियो । प्राधिकरणले कात्तिकबाट थप दुई जलविद्युत् केन्द्रसहित आठ आयोजनाको विद्युत्लाई स्रोत मानी ४०८ मेगावाटसम्म बिक्रीको स्वीकृति पाएको थियो । प्राधिकरणले गत वर्षको जेठ र असारमा भारतलाई विद्युत् बेचेर २ अर्ब ८३ करोड रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।

प्राधिकरणले आईएक्सको प्रतिस्पर्धी बजारमै विद्युत् बिक्री र खरिद गर्दै आएको छ । ‘आईएक्सबाट मात्र खरिद गर्ने या उत्पादकहरुसँग छोटो अवधिको विद्युत् खरिद सम्झौता गरी आयात गर्ने भन्ने बारेमा छलफल भइरहेको छ’, उनले भने, ‘यसका लागि बजार अध्ययन गरिरहेका छौं ।’ आईएक्समा विद्युत् खरिद बिक्रीका लागि २४ घण्टालाई १५.१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत् कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले ३ पुससम्म निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ २२ पैसा रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *