काठमाडौं, ९ पुस–नेपाली कांग्रेसले सत्ता समीकरण र सरकार गठनबारे धारणा बुझ्न प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना सांसदहरुको भेला बोलाएको छ । कांग्रेसबाट निर्वाचित सांसदहरुलाई दिउँसो १२ः३० बजे प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा बोलाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहित दाबी गर्न दलहरूलाई आइतबार ५ बजेसम्मको समय दिएकी छन् । तर कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरूबीच शनिबार बिहानसम्म सहमति जुटेको छैन । सत्ता गठबन्धनका पाँच दलले गठबन्धनकै दलहरू मिलेर सरकार बनाउने बताउँदै आएका छन् । तर कसको नेतृत्व भने टुंग्याएका छैनन्।

बालुवाटारको भेलामा सत्ता समीकरण र नयाँ सरकार गठनबारे छलफल हुने कांग्रेसका एक उच्च नेताले जानकारी दिए । कांग्रेस संसदीय दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो पटक भेला हुन लागेको हो ।

कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच को प्रधानमन्त्री बन्ने होडबाजी छ । सहमति नजुटे ‘साथ छोड्ने’ र अर्को गठबन्धन बन्न सक्ने ‘घुर्की’ पनि एकले अर्कोलाई दिइरहेका छन् । प्रधानमन्त्री बन्ने हठले दुईबीचको विवाद उत्कर्षमा पुगेको छ ।

देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने बताइरहँदा प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने जवाफ फर्काएका थिए । चुनावपछिको सरकारको नेतृत्व आफूलाई दिने ‘पूर्व सहमति’ पालना गर्नुपर्ने प्रचण्डको अडान छ । यता कांग्रेस भने चुनावमा पहिलो पार्टी बनेकाले सरकारको पहिलो नेतृत्व कांग्रेसले गर्नुपर्ने अडानमा यथावत् छ ।

पहिलो दुई वर्ष देउवा र त्यसपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने ‘कार्ड’ कांग्रेसले खेलिरहेको छ । तर प्रचण्ड भने कुनै हालतमा पनि आफू पहिलो दुई वर्ष प्रधानमन्त्री बन्नैपर्ने अडान राखिरहेका छन् । कांग्रेसले माओवादीलाई सभामुख, उपराष्ट्रपति तथा केही मुख्यमन्त्रीको प्रस्ताव गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *