काठमाडौं, ११ पुस–नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको पदाधिकारीसहितको बैठकले आफ्नो तर्फबाट सरकारको नेतृत्व विष्णु पौडेलले गर्ने निर्णय गरेको हो ।
एमालेले सात दलीय गठबन्धनमा ६ वटा मन्त्रालय पाउने भएको छ । ओली निवास बालकोटमा ६ मन्त्रीको नामलाई पनि अन्तिम रुप दिँदैछ । एमाले महासचिव शंकर पोखरेलले मंसिर ४ को निर्वाचनमा विजयी उपाध्यक्षमध्ये एक जनाले सरकारको नेतृत्व गर्ने जानकारी दिए ।
यस्तोमा उपाध्यक्ष पौडेलले गृह या अर्थ मन्त्रालयले लिन सक्ने छन् । उनी दुईमध्ये एक उपप्रधानमन्त्री हुनेछन् । उनले अर्थ मन्त्रालयले लिन सम्भावना बलियो छ । गृह मन्त्रालयमा माओवादी उपमहासचिव वर्षमान पुनको सम्भावना बलियो छ ।
एमालेबाट मंसिर ४ को निर्वाचनमा उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल विजयी भएका थिए ।
नेम्वाङ इलाम र पौडेल रुपन्देहीबाट विजयी भएका हुन् । तर नेम्वाङ अहिले सभामुख या राष्ट्रपति पदमध्ये एकका दाबेदार हुन् । संविधानसभा अध्यक्ष र एमाले संसदीय दलको नेता समेत भइसकेका उनी सात दलीय गठबन्धनबाट राष्ट्रपतिका दाबेदार हुन् ।
एमाले उपाध्यक्षमध्ये सुरेन्द्र पाण्डे निर्वाचनमा पराजित भएका थिए ।
त्यस्तै, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादल चुनावी मैदानमै थिएनन् । आइतवार बालकोटमा भएको सात दलीय गठबन्धनको बैठकले पनि प्रधानमन्त्री माओवादीले लिँदा राष्ट्रपति र सभामुख एमालेले लिने समझदारी गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजे शपथ लिँदैछन् ।
एमालेले यसअघि सरकारबारे निर्णय लिने जिम्मा ओलीलाई दिएको छ । ओलीले नै मन्त्रीका अन्य नामहरुको टुंगो लगाउँदै छन् । यता नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री हुँदैछन् । त्यस्तै वर्षमान पुनको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ ।
