काठमाडौं, ११ पुस–नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पार्टीको आज (सोमबार) बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । तर मन्त्रालय टुङ्गो लाग्न भने बाँकी छ । श्रेष्ठ राष्ट्रिय सभाका सदस्य हुन् । यसअघि उनी परराष्ट्र र गृहमन्त्री भइसकेका छन् ।
‘आज बसेको पदाधिकारी बैठकले हाम्रो पार्टीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय गरेको छ, आज सानो आकारको मन्त्रिमण्डल बन्छ । त्यसमा हाम्रो पार्टीबाट एक जना पठाउने निर्णय गरेका हौँ’, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भने, ‘मन्त्रालयको टुंगो भने अहिले ११ बजे बस्ने सत्ता गठबनधनको बैठकले निर्णय गर्नेछ ।’
