शिबगञ्ज, ११ पुस–शिवसताक्षी–६ का सुकलाल मुर्मुको घरमा सोमबार मध्य दिउँसो आगोलागेर घरसहित लत्ताकपडा र भाडावर्तन पूर्णरुपले जलेर खरानी भएको छ । हिउँदको चिसो समयमा बस्नका लागि तत्काल अस्थाई घर निर्माण गर्न, न्यानो कपडा र भाडावर्तन व्यवास्थाका लागि आगलागीबाट पीडित मुर्मुलाई वार्ड कार्यालय र रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाबाट आजै राहत सामाग्री हस्तान्त्रण गरिएको छ ।
शिबसताक्षी वडा नं ६ का अध्यक्ष तथा नेपाली कांग्रेसका नेता मनोज खुलाल कार्कीका अनुसार वडा कार्यालयको तर्फबाट तत्कालै मुर्मु परिवारलाई १ बोरा चामल, १ बोरा भुजा, म्याट लगायतका सामाग्री प्रदान गरिएको हो । वार्ड अध्यक्ष कार्कीका अनुसार गाउँलेले आगलागी भएको खबर दिनासाथ प्रहरीलाई खबर गरेर जनप्रतिनिध, गाउँले र प्रहरीको सहायताले आगो निभाउन सफल भएको बताए । घरमाथी जस्तापाताको छानो र खरको टाटीको बेरा भएकाले केही छिन् मै घर जलेर नष्ट भएको वडाध्यक्ष कार्कीको भनाई छ ।
त्यस्तै, नेपाल रेडक्रश सोसाइटी शिवसताक्षी उप–शाखाले पनि आगलागी पीडत मुर्मु परिवारलाई २ थान त्रिपाल, २ थान ओढ्ने कमल, २ थान साडी र भाडाकुँडाहरु सहयोग प्रदान गरेको अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।
मुर्मुको घरमा सोमबार (आज) दिउँसो १२ बजे आगलागी भएको हो । आगलागीबाट घरभित्रका सम्पूर्ण सर–सामानहरु जलेर नष्ट भएको हो ।
घरमा सबै काम बाहिर निस्किएका बेला आगलागी हुँदा केही पनि समान बाहिर निकाल्न नसकिएको पीडित मुर्मूले जानकारी दिए । घरमा मसिना केटाकेटीहरु मात्रै रहेका थिए उनले भने– धन्न नानीहरु आगो लागेको थाहा पाएपछि बाहिर निस्केछन् ।
स्थानीय त्रिलोचन मैनालीको जग्गामा घर बनाई मैनालीकै जग्गामा खेती किसानी गर्दै आएका मुर्मू परिवार घर जले पछि विचल्लीमा परेको छ । घरमा राखेको धान, चामल, लत्ता कपडा लगायतका सबै समाग्री जलेर नष्ट भएको छ । करिब ३ लाख ५० हजारको सामाग्री जलेर नष्ट भएको बताइको छ ।
