काठमाडौं, १२ पुस–राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठक आह्वान गरेकी छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले आउँदो पुस २५ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै संसद बैठक आह्वान हुने बताएका थिए । गत पुस ७ गते संसदका ज्येष्ठ नागरिक पशुपति शम्शेर राणाले नव निर्वाचित सांसदहरूलाई शपथ खुवाएका थिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति भण्डारीले १३ दिनको समय राखेर संसद बैठक आह्वान गरेकी हुन् । ४ मंसिरको चुनाव सम्पन्न भएपछि पहिलो पटक संसद बैठक बस्न लागेको हो ।

यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने तयारी छ । संविधानको धारा ७६ (२) अनुसार बनेको दाहाल सरकारले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।

संसदमा प्रधानमन्त्रीले कम्तिमा बहुमत (१३८) पाउनु पर्ने हुन्छ । दाहाल सरकारलाई अहिले प्रतिनिधि सभाका १६९ सांसदको समर्थन रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *