काठमाडौं, १३ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका ओली फर्किएका छन् । सरकारको नीति कार्यक्रम कस्तो बनाउने भन्नेबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिएका छन् ।
बुधबार प्रचण्डको निजी निवास खुमलटारमा प्रचण्ड–ओलीबीच भेटवार्ता भएको थियो । उक्त भेटमा सरकारका कामलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे कुराकानी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
‘सरकारको कामलाई कसरी प्रभाकारी बनाउने भन्नेबारेमा छलफल भयो । सरकारका नीति कार्यक्रम के बनाउने छलफल भएको हो । पहिलो क्याबिनेटबाट जे निर्णय गरेको छ त्यसलाई जनतासम्म कसरी लैजाने कुराकानी भएको छ,’ मल्लले सुनाए ।
यस्तै भेटमा शक्ति बाँडफाँटका विषयमा पनि कुराकानी भएको थियो । मल्लले यसबारेमा बिहीबार फेरि बालुवाटारमा छलफल गर्ने गरी भेटवार्ता टुंगिएको बताएका छन् ।
‘भोलिको छलफलले थप निर्णय गर्नेछ । अहिले गठबन्धनभन्दा पनि सत्ता साझेदारीबारे कुरा भयो’, उनले भने, ‘आज मन्त्रिपरिषद् विस्तारबारेमा कुरा भएन । सरकारको नीति तथा कार्यक्रममा छलफल भएको छ ।’
प्रचण्ड एमालेसहित ७ राजनीतिक दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री भएपछि प्रचण्डले भेटघाटलाई तीव्र बनाएका छन् । आजै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका थिए । नेपालले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताएको मल्लको भनाइ छ ।
