दमक, १३ पुस–झापाको दमकमा बुधबार झापा जिल्ला स्तरीय अन्तरधार्मिक शान्ति सञ्जाल गठन गरिएको छ । दमकस्थित होटल फाइनमा पाँचवटा अन्तरधार्मिक संघसंस्थाका अगुवा प्रतिनिधिहरुको भेलाले सञ्जाल गठन गरिएको हो ।
सञ्जालको अध्यक्षमा इसाई समाजको तर्फबाट पाष्टर राजकुमार नाछिरिङ राईलाई सर्वसम्मत चयन गरिएको छ । सञ्जालको उपाध्यक्षमा हिन्दु धर्मको तर्फबाट देबेन्द्र किशोर ढुंगेल, सचिवमा बौद्ध धर्मको तर्फबाट एम.बि.घिसिङ, सहसचिवमा किराँत धर्मको तर्फबाट गुमानसिंह सङ्बाहाम्फे र कोषाध्यक्षमा इस्लाम धर्मका सजेवुल अन्सारी हुनुहुन्छ ।
त्यसैगरी, सञ्जालको सदस्यहरुमा पाष्टर आकाश थुलुङ राई, मानबहादुर तामाङ, सुवान इस्लारी, देबी भेटुवाल र दिलिप जवेगु हुनुहुन्छ ।
यसअघि, विहानी सत्रमा धार्मिक प्रवचन भएको थियो । शान्ति र सदभावका लाग अन्तरधार्मिक प्रवचन कार्यक्रम भएको हो ।
प्रवचन कार्यक्रममा इस्लाम धर्मका अगुवा मौलना महमदले मानव अधिकारको सम्मान र हिंसा रहित समाज निर्माणमा धर्मशास्त्र कुरानमा उल्लेख भएका विषयलाई जोड दिनुभयो । वहाँले जीवन र मृत्यूमा आधारित अनेकौं प्रकारका अनुशासन, प्रेम, करुणा, जिम्मेवारी, समानता, सदभावका निम्ति इस्लाम धर्मशास्त्र कु्रानले मानव जातिलाई निर्देशित गरिरहेको बताउनुभयो ।
इसाई समाजका अगुवा पाष्टर राजकुमार राईले धर्मशास्त्र बाइबलमा हाम्रो जीवनदेखि मृत्युबीचमा समाज र राष्ट्रका निम्ति असल कर्म, अनुशासन, जिम्मेवारी, कतव्र्यबोध, प्रेम, समानता र सदभावका निम्ति धेरै खालका दर्शनहरु रहेको बताउनुभयो । वहाँले बाइबलमा जाति, लिङ्ग र बर्गको कारण कसैलाई भेदभाव नगरिएको बताउनुभयो । बाइबलमा सवै मानव जाति वा समुदाय बराबार र बराबर अधिकारको कुरालाई उल्लेख गरेको छ, पाष्टर राईले भन्नुभयो–हामी सवै जात, धर्म, लिङ्ग वा बर्गबीचमा पनि बराबर प्रेम र सदभाव हुन आवश्यक छ ।
किराँत धर्मको तर्फबाट अगुवा बालकुमारी लिम्बूले किरात धर्मशास्त्र मुन्धुममा प्रकृति र जीवन दर्शनसंग आधारित संस्कार र संस्कृतीलाई पालना गरिआएको बताउनुभयो । वहाँले किराँत धर्ममा महिला र पुरुष बराबरी अधिकार भएको जनाउनुभयो ।
बौद्ध धर्मको तर्फबाट लामा सोनम थोकरले शान्ति र सदभावका लागि हामी मानव जातिमा मैत्री, करुणा, आनन्द र समानता हुन जरुरी रहेको बताउनुभयो ।
हिन्दु धर्मको तर्फबाट अगुवा राजेन्द्रप्रसाद ढकालले आदिम समय र समाजदेखि अहिलेको आधुनिक समाज निर्माणमा अनेकौ भाषा, धर्म र संस्कार–संस्कृतीमा आस्था राख्नेहरुको योगदान भएको भन्दै अवको समाजमा पनि तिनै सदभावलाई कायम राखेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
अन्तर धार्मिक शान्ति सञ्जाल मोरङका अध्यक्ष रामचन्द्र बुढाथोकीको अध्यक्षतामा सो प्रवचन कार्यक्रम भएको हो । सो कार्यक्रमलाई दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटनपछि नगर उपप्रमुख भट्टराईले जातको कारण वा धर्मको कारणले कोही पनि सानो वा ठूलो हुन नसक्ने भन्दैं धार्मिक संघसंस्थाहरुबीच अगुवाहरुको सामुहिक छलफलले समाजलाई सकारात्मक दिशातर्फ लैजानेमा आशावादी रहेको बताउनुभयो । वहाँले दमकमा पहिलो पटक धार्मिक संघसंस्थाका अगुवा गुरुहरुको भेलाप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा यस प्रकारका कार्यक्रम आयोजना गर्न दमक नगरपालिकाको तर्फबाट सहयोग रहने बताउनुभयो ।
त्यस्तैं, कार्यक्रममा दमक–५ का वडा अध्यक्ष इन्द्रवहादुर गुरुङ, अन्तरधार्मिक शान्ति महासंघ केन्द्रीय अध्यक्ष रामभक्त कुरुङबाङ, अन्तर धार्मिक शान्ति सञ्जाल प्रदेश १ का अध्यक्ष शम्भु अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न धार्मिक संघसंस्था, जातिय संघसंस्था र पत्रकारहरुको सहभागिता थियो । दमक नगर इसाई समाजका अध्यक्ष समेत रहनुभएका अन्तरधार्मिक प्रवचन कार्यक्रमको व्यवस्थापनका संयोजक पाष्टर आकाश थुलुङ राईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई सिडिएफका कार्यालय प्रमुख नरबहादुर लिम्बूले सञ्चालन गर्नुभएको थियो ।

