काठमाडौं, १९ पुस–नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीले आफूमाथि जनजाति समूहबाट सबैभन्दा बढी साइबर आक्रमण हुने गरेको उल्लेख गरेकी छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले आफूमाथि जनजातिबाट धेरै साइबर आक्रमण भएको उल्लेख गरेकी हुन्। उनले एउटा अनुसन्धान टिमले साइबर आक्रमण, साइबर हिंसा र साइबर ह्यारेसमेन्टका समबन्धमा आफूमाथि लामो समय लगाएर अनुसन्धान गरेको बताएकी छन्।

उनले उक्त रिपोर्टमा मगर, तामाङ, राई, लिम्बु जस्ता जनजाति समुदाय र विश्वकर्मा, परियार, नेपाली जस्ता दलितहरुबाट आफूमाथि साइबर हमला हुने गरेको तथ्य खुलासा गरेकी हुन्।

‘पछिल्ला दुई वर्षमा म सबै भन्दा बढी साइबर हमलामा परेकी रहेछु। हुन त सबै प्रकारका पेशा, वर्ग, जातजाति, लिंग र सबै क्षेत्रमा बस्ने व्यक्तिहरूले व्यक्तिगत रूपमा अपशब्द प्रयोग गरेर गालीगलौज गरेको देखिन्छ। तर केही विषयमा अनुसन्धानकर्ता पनि आश्चर्य चकित हुनुहुन्थ्यो,’ उनले भनेकी छन्, ‘मलाई सोसल मिडियामा सबैभन्दा धेरै आक्रमण गर्ने खासमा जातीय हिसावले मगर, तामाङ, राई, लिम्बु जस्ता जनजाती समुदायका व्यक्तिहरू रहेछन्। विश्वकर्मा, परियार, नेपाली जस्ता दलित समुदायका व्यक्तिहरू रहेछन्।’

साथै उनले लैङ्गिक हिसाबले महिलाहरू, महिलाका नाम र महिलाको प्रोफाइल फोटो राखेका नक्कली आईडिहरूबाट समेत साइबर हमला हुने गरेको बताएकी छन्।

‘मेरो काम र म सँग असम्बन्धित व्यक्तिहरू पनि ठूलो संख्यामा व्यक्तिगत गालिगलौजमा आएका रहेछन्। मलाई यो रिपोर्टले कानूनी उपचार खोज्न बाध्य बनाउँदैछ। मैले यसको उपचार खोजिन भने सायद म भन्दा पछाडीका बहिनीहरू र छोरीहरू यस्तो प्रकारको सिकार झनै हुनेछन्,’ झाँक्रीले भनेकी छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *