दमक, २० पुस–नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको सभापतिमा पुनः प्रकाश बुढाथोकी चुनिएका छन् । उपशाखाको आज सम्पन्न निर्वाचन कार्यक्रमबाट सभापतिसहित उपसभापति, कोषाध्यक्ष र उपकोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकारी मित्रदेव काफ्लेले जानकारी दिए ।
उनका अनुसार निर्विरोध निर्वाचित हुनेमा सभापतिमा बुढाथोकीसहित, उपसभापतिमा गोमादेवी प्रसाई (बुढाथोकी), कोषाध्यक्षमा सिता कार्की र उपकोषाध्यक्षमा प्रकाश बस्नेत रहेका छन् । ११ सदस्यीय रहने कार्यसमितिको सचिव , उपसचिवसहित महिला सदस्य तथा सदस्यहरुमा भने मतदान हुने भएको छ ।
सचिवमा हालका सचिव घनश्याम कोइरालासंगै तिर्थराज बस्नेत (शंकर) को उम्मेदवारी परेको छ । बस्नेत उपशाखाका यसअघि समितिको सदस्य हुन् ।
यसैगरि, उपसचिवमा बबरजंग थापा (किरण) र अनिल सुवेदीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । महिला सदस्यमा मैना दाहाल र दुर्गा चुडाल र चार जना सदस्यका लागि सर्वकुमार कार्की, डा.सुर्यनारायण साह, पारषमणि आचार्य, सुमनकुमार नेपाल, सुरेन्द्र कुमार श्रेष्ठ र ध्रुवप्रसाद न्यौपाने गरि ६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकारी काफ्लेले बताएका छन् ।
निर्विरोध नभएका सवै पदहरुको निर्वाचन यहि पुस २३ गते आफनै सभाहलमा हुने जनाईएको छ । निर्वाचनमा उपशाखामा आवद्ध १३ सय बढी आजीवन सदस्यले मतदान गर्ने छन् । २०५० सालमा स्थापना भएको रेडक्रस दमक उपशाखा देशकै जेठो उपशाखा हो ।
