धरमपुर (शिबसताक्षी), २५ पुस–झापाको शिवसताक्षी–२ मा आइतबार मानसिक रोगीहरुको घर–घरमै पुगेर उपचार तथा औषधि वितरण गरिएको छ।
मनमोहन मेमोरियल हस्पिटल बिर्तामोडका मनरोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारी, शिवसताक्षी-२ मंगलबारेस्थित धरमपुर स्वास्थ्य चौकी प्रमुख धनबहादुर विक, मेडिकल सेल्स अफिसर रोशन धिमालको सहयोगमा आर्थिक विपन्न भई उपचारको पहुँचबाट बन्चित मनोरोगीहरुको घर-घरमै पुगी सेवा प्रदान गरिएको हो ।
मस्तिष्कबाट उत्पन्न हुने भावना, आभाष, स्मृति, विचार, बोली, चेतना आदिमा गडबवडी हुने समस्या मानसिक रोग हो । यो अवस्था लगातर रहिरहेमा मानसिक समस्याको शंका गर्नुपर्छ।
मानसिक रोग विशेषज्ञ ड.अधिकारीका अनुसार कोरोना महामारीले संक्रमितभन्दा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अन्य वर्गलाई बढी मानसिक रूपमा गाँज्दै लगिरहेको छ ।
लकडाउनका कारण आर्थिक संकटमा परेका व्यापारी, निको भइसकेका पुराना मानसिक बिरामी, लागूऔषध प्रयोगकर्ता, घरेलु हिंसामा परेका महिला र बालबालिका, दीर्घरोगी र संक्रमितको उपचारमा खटिएका फ्रन्टलाइन स्वास्थ्यकर्मीलाई महामारीले बढी मानसिक असर गरेको उनले बताए ।
मनरोगीहरुलाई घरमै उपचार तथा औषधि प्रदान गरिएको र निरन्तर फलोअप गरेर उनीहरूलाई निःशुल्क थप औषधि प्रदान गरिने मेडिकल सेल्स अफिसर धिमालले बताए ।
