संखुवासभा, २६ पुस–भोटखोला गाउँपालिकाको हटियामा अनुमति बिना निषेधित क्षेत्रमा हेलिकप्टर उडान गरेपछि नियन्त्रणमा लिइएको छ। अनुमतिबिना निषेधित क्षेत्रमा अल्टिच्युड एयरले उडान गरेपछि हेलिकप्टरलाई मंगलबार बिहान १० बजे नियन्त्रण लिइएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिए।
प्रजिअ यादवका अनुसार गृह मन्त्रालयले दिएको उडान अनुमति अनुसार उडान नभरी अल्टिच्युड एयरको ९ एन हेलिकोप्टर सिधै निषेधित क्षेत्रमा गएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
भोटखोला गाउँपालिकाको जेनेरेटर बोकेर काठमाडौंबाट उडेको हेलिकप्टरले निषेधित क्षेत्रमा जानुभन्दा पहिले जिल्ला प्रहरी कार्यालय खाँदबारीमा अवतरण गरेर जाँचपछि मात्रै भोटखोलाको हटिया उडान गर्ने अनुमति लिएको थियो।
निषेधित क्षेत्रमा उडान भरेको मन्त्रालयलाई समेत जानकारी दिइसकिएको प्रजिअ यादवले बताए। प्रहरीले हेलिकप्टरका पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएर प्रहरीचौकी हटियामा राखेको छ।
हेलिकप्टरले भोटखोला गाउँपालिकाको माक्पालुंगमा रहेको टेलिकमको टावर सञ्चालनका लागि जनेरेटर ल्याएको भोटखोला गाउँपालिकाका अध्यक्ष वागंछेदर भोटेले बताए।
