काठमाडौँ, २७ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफैलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई ‘सुप्रिमो’ ठान्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो नहुन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भए पनि ओलीले आफूले ठिक गरें भनेर अझै पनि अहङ्कार प्रस्तुत गरिरहेको भन्दै आपत्ति समेत जनाए ।

पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज बुधवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री प्रचण्डलाई १५ बुँदे शर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पारे । उनले संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढ्न पनि प्रधानमन्त्रीलाई सचेत गराए ।

उनले भने, ‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसुस भए त हुन्थ्यो । तर यो महसुस नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ– मैले जे गरेँ, ठिक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहङ्कार प्रदर्शन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ । यो प्रवृत्तिको वर्तमान सरकारको प्रधानमन्त्री नभइ दिनुहोला है । मेरो आग्रह छ । विनम्रतालाई अवलम्बन गर्नुहोला । संविधानको मूल मर्म र भावनालाई ध्यान दिनुहोला ।’

अध्यक्ष नेपालले विश्वासको मत लिने बेलामा गरेका प्रतिबद्धताहरू पूरा गर्ने काममा केन्द्रित हुन पनि प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग रहिरहने उनको भनाइ छ । अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा सत्तापक्षको नहुने जिकिर गरेका छन् ।

उनले विश्वासको मत दिने पार्टी सत्तारुढ हुने कहाँको व्यवस्था हो आफूले बुझ्न नसकेको टिप्पणी गरे । उनले २०५१ सालमा पनि नेकपा एमालेको सरकारलाई कांग्रेसले विश्वासको मत दिएर प्रतिपक्षमा बसेको स्मरण गरे । अध्यक्ष नेपालले सरकारलाई राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा काम गर्न आफ्नो पार्टीले घचघच्याइ रहने पनि बताए । अध्यक्ष नेपालले देशलाई विदेशीहरूको क्रिडाभूमि बन्न नदिने काममा पनि वर्तमान सरकार सचेत रहनुपर्ने समेत बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *