काठमाडौं, २७ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्तिको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्विकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै नेपालले त्यस्तो नहुन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन्।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढ्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए।

प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भए पनि ओलीले आफूले ठीक गरेँ भनेर अझै पनि अहंकार प्रस्तुत गरिरहेको भन्दै नेपालले आपत्ति समेत जनाए ।

‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसुस भए त हुन्थ्यो। तर यो महसुस नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ। मैले जे गरेँ, ठिक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटी भएको महसुस नगर्ने, अहंकार प्रर्दशन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ।’ एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै नेपालले भने, ‘यो प्रवृत्तिमा वर्तमान प्रधानमन्त्री नलाग्नुहोला है। मेरो आग्रह छ । विनम्रतालाई अवलम्बन गर्नुहोला । संविधानको मूल मर्म र भावनालाई ध्यान दिनु होला।’

भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ बुँदे शर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पारे।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *