दमक, २ माघ–दमक उद्योग बाणिज्य संघको महिला उपाध्यक्षसहित बस्तुगत सदस्य तथा लेखा समिति सदस्यका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । सोमबार उम्मेदवारी फिर्ताको अन्तिम समयमा बस्तुगततर्फ सातै सदस्य तथा दुई जना लेखा सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक लीला गुरागाईले बताए । यसअघि महिला उपााध्यक्ष पदमा शुष्मा निरौला केसी निर्विरोध निर्वाचित भएकी छन् ।

निर्वाचन समितिका संयोजक गुरागाईका अनुसार बस्तुगततर्फ सदस्यमा निर्वाचित हुनेमा मोवाइलबाट भेनस श्रेष्ठ, रेडिमेडका संजीव बराल, सुनचाँदीका विवेक श्रेष्ठ, अटो मोबाइलका प्रकाश नेपाल, ग्याँसका तिलक डाँगी, भाडावर्तनकी अञ्जना ताम्राकार र किरानाका दिपक प्रसाद गौतम रहेका छन् ।

निर्वाचित मध्ये गौतम मात्र एमाले निकटका हुन् भने अन्य सबै नेपाली कांग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक व्यवसायी समूहका हुन् । सात सदस्य रहने बस्तुगतमा ८ जनाको उम्मेदवारी दर्ता भएकोमा उम्मेदवार रिंगकुमार आचार्यले उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता भएपछि ती पद सवै निर्विरोध भएका थिए ।

यस्तै, तीन सदस्यीय लेखा समितिको सदस्यमा संयुक्त लोकतान्त्रिकका पदम राउत र एमाले समर्थित समूहबाट षडानन्द घिमीरे निर्विरोध निर्वाचित भएका छन् । २४ सदस्यीय कार्यसमितिको नयाँ नेतृत्वका लागि यहि माघ ६ गते निर्वाचन हुदै छ । निर्वाचनमा २०१६ मतदाता छन् ।

कांग्रेस,राप्रपा र माओवादी समर्थित व्यवसायीका तर्फबाट अध्यक्षमा गोपाल गुरागाईं र एमाले समर्थित व्यवसायीको समूहबाट बिमल खतिवडा अध्यक्षका प्रत्यासी छन् । गुरागाई कार्यसमिति सदस्य, पदाधिकारी हुदै हाल वरिष्ठ उपाध्यक्ष रहेका छन् भने खतिवडा यसअघि वर्तमान अध्यक्ष गोकुल श्रेष्ठसंग अध्यक्षमा पराजित भएका थिए ।

दुवै उम्मेदवारको समूहले व्यवसायीहरु माझ भोट माग्दैआएका छन् । कतिपय उम्मेदवारले सामाजिक सञ्जाल, एसएमएस माध्यमबाट भोट माग्दै आएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *