काठमाडौं, ७ माघ–सभामुख र उपसभामुख निर्वाचनमा पराजित भएको संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले नेकपा एमाले अध्यक्ष केपी ओलीबाट संविधानमाथि खतरा बढेको बताउँदै प्रधानमन्त्री प्रचण्डको परीक्षा राष्ट्रपति चुनावमा हुने बताएका छ ।
उपसभामुख निर्वाचनपछि संसदबाट बाहिरिने क्रममा कांग्रेस प्रवक्ता समेत रहेका सांसद डा। प्रकाशशरण महतले केपी ओलीको समर्थन भइरहेका उम्मेदवारको विजयले संविधानमाथि खतरा बढेको टिप्पणी गरे ।
महतले भने, ‘संविधान रक्षाको कुरा गरेकाले हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौँ । हिजो उहाँले संविधान रक्षाका लागि भनेर गठबन्धन गर्नु भएको थियो, उहाँ पुरानो गठबन्धन छाडेर जानुभयो । अहिलेको परिवेशमा संविधानमाथि केपी ओलीजीबाट झन खतरा बढेको छ । संसद् विघटनको कुरा उहाँले प्रमुख विषय बनाउनु भएको छ ।
संविधानको पक्षमा उभिने कि नउभिने प्रधानमन्त्री सभामुख र उपसभामुख चुनावमा उहाँ उत्तीर्ण हुनु भएन । अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा सबैभन्दा महत्पूर्ण घडी छ ।’ उनले अन्य दलहरूले पनि सत्ता स्वार्थमा केपी ओलीसामु मुण्टो लुकाएर बसेको आरोप लगाएका छन् ।
