काठमाडौं, १६ माघ–नेत्र विशेषज्ञ डा.सन्दुक रुइतलाई उहाँकै घरमा सम्मान गरिएको छ । स्वयम्भू नजिकैको डल्लु आवास क्षेत्रका वासिन्दाले शनिबार बिहान उहाँको घर पुगेर सम्मान गरेको बताइएको छ ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, पूर्व पर्यटनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सचिव जीवनराम श्रेष्ठ, काठमाडौं १५ नम्बर वडाध्यक्ष ईश्वरमान डंगोल, डल्लु आवास क्षेत्रका संयोजक राधा शाक्य सहितको टोलीले डा. रुइतलाई सम्मान गरेको हो ।
डल्लु आवास क्षेत्र सहयोग समितिका सल्लाहकार डा.रुइतलाई ‘दृष्टि देवता’ को संज्ञा दिइएको छ। उहाँ बहराइनको प्रतिष्ठित इसा अवार्डबाट सम्मानित हुनुभएको खुशियालीमा उक्त आवासका स्थानीयले अभिनन्दन गरेका हुन् ।
ताप्लेजुङको विकट ओलाङचुङगोलामा जन्मनुभएका उहाँले मोतियाबिन्दुको उपचारमा सरल र सस्तो पद्धतिको आविष्कार गरेपछि विश्व चर्चित हुनुभएको हो । आगामी दिनमा आफ्नो क्षेत्रमा थप सफलताको निम्ति स्थानीयले शुभकामना पनि दिएका छन् ।
हामी नेपालीहरूको समेत गर्भ र मानव जीवनको प्रमुख अंग आँखाको ज्योति दिन सफल हामी सम्पूर्ण नेपाली गौरवान्वित थप सफलता र सत्कर्मको अपेक्षा सहित उहाँले पाएको उपलब्धि देशकै उपलब्धि सिंगो मानव समाजको गौरवको विषय भएको भन्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता खनालले विश्व मानव समुदायले गौरव महसुस गरेको भन्दै नेपालीहरूको तर्फबाट आगामी दिनमा पनि महत्वपूर्ण योगदान अनुसन्धान र आविश्कार गर्न सक्नुस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।
