दमक, २१ माघ–दमक सगरमाथा तेक्वान्दो डोजाङले आज (शनिबार) दमकस्थित सर्बोदय अंग्रेजी बिद्यालयमा तेक्वान्दो डोजाङ खेलको विकास र खेलाडीहरुको हौसल्ला लागि पहिलो पटक तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा उदयपुर, मोरङ, सुनसरी, इलाम र झापाका समेत गरी ७० जना खेलाडीहरुको सहभागिता थियो । सो प्रतियोगितामा उमेर समुह अन्तर्गत १८ देखि ५० केजी तौलसम्मका २२ वटा क्याटुकुरीमा खेल खेलाइएको थियो । प्रतियोगितामा बिजेता र उप-बिजेतासहित सहभागि खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना प्रसाई, संविधान सभाका सदस्य तथा नेत्री महेन्द्र कुमारी लिम्बु र बेलायतस्थित सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक, पूर्व आर्मी तथा अन्तराष्ट्रिय प्रशिक्षक राष्ट्र राई लगायतले शिल्ड, मेडल र प्रमाण-पत्र प्रदान गर्नुभएको दमक सगरमाथा तेक्वान्दो डोजाङका अध्यक्ष जीतु धिमालले जानकारी दिनुभयो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी दमक नगर प्रमुख थापाले खेलको माध्यमले समाज र राष्ट्र निर्माणमा खेलाडीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
दमक नगरकी उपप्रमुख प्रसाईले दमकमा आयोजना हुने यस्ता खेल वा प्रतियोगिताले दमकलाई देशभर चिनाउन सकिने बताउनुभयो ।
सो अवसरमा दमकमा खेल जीवनमा लामो समयदेखि सक्रिय पूर्व खेलाडीहरु र खेलकुदको संस्थागत विकासमा सक्रिय संस्था र व्याक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
बेलायतबाट नेपालमा तेक्वान्दो डोजाङ खेलको विकासमा सक्रिय रहनुभएका मार्सल आर्टका अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक राष्ट्र राईले तेक्वान्दो डोजाङ खेलप्रती अहिलेका नयाँ पुस्ताका खेलाडीहरुलाई प्रोत्साहन गर्न प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।
बेलायतमा मुख्य कार्यालय र नेपालका लागि दमकसहित उदयपुरमा कार्यालय स्थापना गरी तेक्वान्दो डोजाङ खेलको विकास र प्रचार-प्रसारमा सक्रिय राईले यस खेलतर्फ खेलाडीहरुको आर्कषण बढिरहेको बताउनुभयो ।
वहाँका अनुसार नेपाल तेक्वान्दो संघको ललितपुरको सातदोबाटोस्थित केन्द्रिय कार्यालयले ४ माघमा राष्ट्र राई मुख्य प्रशिक्षक रहेको सो तेक्वान्दो डोजाङलाई तेक्वान्दो संघमा आवद्धतासहितको प्रमाणपत्र प्रदान गरेसंगैको दमक सगरमाथा डोजाङले तेक्वान्दो प्रशिक्षण सञ्चालन गर्न पाउने बैधानिकता पाएको हो ।
दमक सगरमाथा तेक्वान्दो डोजाङका अध्यक्ष जीतु धिमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रोशन दाहालले गर्नुभएको थियो ।




