काठमाडौं, २१ माघ–नेकपा (एकीकृत समाजवादी) ले नेपाली कांग्रेस पुँजीपति वर्गको पार्टीको रुपमा चित्रण गरेको छ । नव उदारवादको पक्षपोषण गर्ने कांग्रेसले दलाल पुँजीपति वर्गको हित प्रतिनिधित्व गरिरहेको एकीकृत समाजवादीको दाबी छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीको पाँचौ केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा राजनीतिक दलहरुको बारेमा गरिएको चित्रणमा कांग्रेससंविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहे पनि दलाल पुँजीपतिको पार्टी भएको उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘अहिले प्रतिनिधि सभाको सबैभन्दा ठुलो दलका रूपमा रहेको नेपाली काँग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी हो । नव उदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ । तथापि यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको पाइन्छ ।’
अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनमा कांग्रेसप्रति यस्तो बिश्लेषण गरेपनि व्यवाहारिक हिसाबले अहिले नेकपा (एकीकृत समाजवादी) ले कांग्रेससँग नै सहकार्य गरीरहेको छ । गत निर्वाचनमा कांग्रेस नेतृत्वमा चुनावमा गठबन्धनमा गएको एकीकृत समाजवादीले सभामुखको निर्वाचनमा पनि कांग्रेसलाई सघाएको थियो ।
