दमक, २४ माघ–झापाको दमक–३ आमचौकमा सञ्चालित कावेली साना किसान कृषि सहकारी संस्थाले आज ११औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर कावेली साना किसान कृषि सहकारी संस्थाले आमचौकस्थित कार्यालयमा रक्तदान सहित शुभकामना आदानपप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सो सहकारी संस्थाका अध्यक्ष भीम दाहालका अनुसार रक्तदानमा ३६ प्रिन्ट रगत संकलन भएको छ । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसञ्चार बिभागको प्राविधिक सहयोग थियो ।
अध्यक्ष दाहालले दमकको ग्रामिण क्षेत्रका किसानहरुको सक्रियतामा कावेली साना किसान कृषि सहकारी संस्था स्थापना भएको बताउनुभयो । वहाँका अनुसार सहकारी संस्थाका शेयर सदस्य र कर्मचारीहरुलाई लक्षित गरेर २०६८ सालमा स्थापना भएको संस्थाले वीउ, बिजन, मल, विषादी, यान्त्रिक उपकरण, प्रविधि, मौसमी र बेमौसमी तरकारी तथा फलफूल लगायत पशुपन्छी र चौपया सम्बन्धी सहजिकरण गर्दै आइरहेको छ । त्यस्तैं, सहकारी संस्थाले शेयर सदस्यहरुबीचमा बचत तथा ऋण सम्बन्धी पनि सेवा सञ्चालन गर्दै आइरहेको छ ।
सो अवसरमा सहकारी संस्थाका अध्यक्ष दाहालले रक्तदानमा सहभागि रक्तदाताहरुलाई धन्यवाद दिनुभएको थियो । वहाँले कावेली साना किसान कृषि सहकारी संस्थाले स्थापनाकालदेखि हालसम्म र आगामी दिनमा शेयर सदस्यहरु, कर्मचारीहरु र स्थानीय कृषकहरुलाई उपलब्ध गराइरहेको सेवा र सुविधाको बारेमा जानकारी गराउनुभएको थियो ।



