काठमाडौँ, २६ माघ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिल्यै आफूहरु सरकारमा नजाने बताएका छन् ।
आज (बिहीबार) निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आएका खनालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जाने कुरा नभएको बताएका हुन् ।
उनले सरकारलाई आफूहरुले दिएको समर्थन जारी रहने समेत बताए । सरकारले राम्रो काम गरुञ्जेल आफूहरुको समर्थन रहने उनलडे बताएका छन् । नेता खनालले भने, ‘समर्थन चाहीँ हामीले गरेकै छौँ । समर्थन हाम्रो जारी नै रहन्छ । सरकारले राम्रो काम गरुञ्जेल । अथवा नराम्रो काम नगरुञ्जेल । नराम्रो काम नगरुञ्जेल हाम्रो समर्थन रहन्छ । तर अहिले सरकारमा जानेकुरा हाम्रो त्यस्तो केही छैन ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा आउन गरेको आग्रहको बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
