काठमाडौं, २७ माघ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रीलाई बुझाउनु पर्ने भन्दै थाई एयरलाइन्ससँग घुस मागेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरेको बताएका छन् ।
आज (शुक्रबार) काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं घुस मागेपछि ठाकुरलाई कारबाही गरेको बताएका हुन् ।
उनले भने, ‘भर्खरै त्रिभुवन विमानस्थलको महाप्रबन्धकलाई निलम्बन गरेर आउनु परो । देशलाई यो कुर्सीमा बसेर धोका दिन पाउँदैन । मन्त्रीलाई पैसा कहिले बुझाउनु पर्ने कसलाई बुझाउनु पर्ने स्पस्ट हुनु पर्यो ।’
उनले आफूले कसैको पनि एक पैसा नखाने र अब यस्ता अन्य घुस प्रकरणहरु खुल्दै जाने र कारबाही गर्ने चेतावनी दिए । घुस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको हो ।
मन्त्री किरातीले मन्त्रीले कहिले पैसा माग्यो भन्ने खुल्न पर्ने र पैसा मागेको पाइए मन्त्रीलाई पनि कारबाही हुनुपर्ने जिकिर गरे ।
पर्यटन प्रवद्र्धनका लागि चलाइएको अभियानअन्तर्गत कति पर्यटक भित्रियो भन्ने यकिन तथ्याङ्क बोर्डले दिनुपर्ने उनको भनाइ छ । उनले पशुपति लुम्बिनिमा कतिले भ्रमण गरे यस्को एकिन त्थयाङक जनताले बुझने गरि दिनु पर्ने बताए । उनले कर्मचारीलाई हेरफेर गरेर आतंक नमच्चाउने तर कर्मचारहरुको साथ र काम चाहिने स्पष्ट पारे ।
उनले उपाध्यक्षको भनाईको जवाफ दिंदै भने, ‘म कुनै जहाजको ककपीटमा बसेर उडाउने पाइलट होइन । म त र्याफटिङमा यात्रा गरेको यात्री हो जहाँ सबैको उत्तिकै भूमिका हुन्छ । र्याफटिङमा सबैको भूमिका हुन्छ र गन्तव्यमा पुग्छ हो म त्यहि हो ।’
मन्त्री किरातीले पर्यटन क्षेत्रको समस्यालाई सम्बोधन गर्नका लागि मन्त्रालयले एकीकृत कार्ययोजना बनाएको बताए । उनले १० ठाँउमा १० वटा कार्ययोजना लिगेर घुसखाने काम बन्द गराएको बताए । उनले आफ्नो सम्बन्ध भनेको काम र परिणाममा हुने बताए ।
उनले २० लाख पर्यटक ल्याउने कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशन समेत दिए । ‘हिन्दुहरुको एक मात्र स्थान पशुपतिमा पशुपतिमा हिन्दु विश्वविद्यालय बनाऔं सरकारले त्यसमा सहयोग गर्छ’ उनले भने ।
