माइधार (चिल्लागढधाम), २८ माघ–झापाको शिबसताक्षी–९ मा रहेको धार्मीक तथा पौराणिक महत्व बोकेको चिल्लागढधाममा तीन दिर्ने शिबरात्री मेला लाग्ने भएको छ । चिल्लागढधामको प्रचारप्रसार गरी त्यहाँ आन्तरिक पर्यटनको विकास गर्ने उदेश्यले यसवर्षदेखि चिल्लागढधाममा शिवरात्री मेला आयोजना गर्न लागिएको हो ।
शनिबार, चिल्लागढधाम परिसरमा पत्रकार सम्मेलन गरी मेला आयोजक संस्था चिल्लागढधाम व्यवस्थापन समितिले यस्तो जानकारी गराएको छ । तीन दिने मेला समापन गर्न विभिन्न कार्य विभाजनसहितको जिम्मेवारीहरु बाडफाड गरिएको चिल्लागढधाम व्यवस्थापन समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिए ।
अध्यक्ष तुम्बापोका अनुसार शिबसताक्षी–९ का वडा अध्यक्ष डिल्लीलाल फेम्बोको संयोजकत्वमा चिल्लागढधाम शिबरात्री तीन दिने मेला आयोजक समिति गठन गरिएको छ । सो समितिको सहसंयोजकमा चिल्लागढधाम व्यवस्थापन समितिको अध्यक्ष शिशिर तुम्बापो छन् भने समितिको अन्य सदस्यहरुमा वडा सदस्यहरु, स्थानीय धार्मीक तथा मठमन्दिरका अध्यक्ष लगायत प्रतिनिधिहरुसहित चिल्लागढधाम व्यवस्थापन समितिका पदाधिकारी र सदस्यहरु छन् ।
सो अवसरमा तुम्बापोले शिबरात्री मेलालाई भब्य रुपमा सम्पन्न गर्न प्रचारप्रसार उपसमिति, स्टल निर्माण तथा टेण्ड व्यवस्थापन उपसमिति, भाषिक साँस्कृतिक उपसमिति, आर्थिक संकलन उपसमिति, अतिथी सत्कार उपसमिति, स्वयसेवक उपसमिति लगायतका जिम्मेवारीहरु तोकिएको बताए । मेलाको तयारी तीब्र गतिमा अघि बढिरहेको र केही तयारीहरु पुरा हुन अझै केही समय लाग्ने अध्यक्ष तुम्बापोले जानकारी दिए । उनले मेला उद्घाटनका लागि प्रमुख अतिथीको अझै टुङ्गो लाग्न नसकेको र मेलामा मनोरञ्जनका लागि ख्याती प्राप्त कलाकारहरुको अन्तिम टुङ्गो लाग्न केही समय लाग्ने तुम्बापोले बताए ।
पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक तथा वडा अध्यक्ष फेम्बोले चिल्लागढधामको पौराणिक महत्व धेरै पुरानो समयसंग जोििडएर आउने भएकोले यस क्षेत्रको प्रचारप्रसार र यसको विकासमा वडा कार्यालय र नगर कार्यापालिकाको कार्यालयले विशेष चासो देखाएको बताए । उनले यहि पुरानो धार्मीक तीर्थस्थलको प्रचारप्रसार र संरक्षणको निम्ति शिबरात्रीको अवसरमा तीन दिने मेला आयोजना गरिएको जानकारी दिए ।
फेम्बोका अनुसार फागुन ५ गते मेलाको भब्य समारोहबीच समुद्घाटन गरिने, सोही दिन दिउसो धार्मीक प्रवचन र अतिथिहरुको मन्तव्य र साँझमा स्थानीय भजन कृतन मण्डलीहरुको आ–आफ्नो प्रस्तुतीहरु रहने छ । फागुन ६ गते मेलाका मुख्य आर्कषक गीतसंगीत, नृत्य, प्रहसन लगायत स्थानीय समुदायको जातीय भेषभुषासहित साँस्कृतिक प्रस्तुतीहरु रहने भएको छ भने फागुन ७ गते शिवरात्री मेला समापन अघि प्रसाद वितरण तथा बिदाई कार्यक्रम हुने भएको छ ।
सो मेलामा आगान्तुक तीर्थालुहरुका लागि मनोरञ्जनात्मक राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने चिल्लागढधाम व्यवस्थापन समितिका अध्यक्ष शिशिर त्म्बापोले जानकारी दिए । उनले मेलालाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय स्तरका कलाकारहरु र स्थानीय कलाकारहरुलाई ल्याइने र रोटे पिङ, खेलौना, नौका विहार लगायतका खेल तामासाहरु पनि समावेश गराइएको बताए ।
यता, चिल्लागढधाम समितिका वरिष्ठ उपाध्यक्ष रमेश फुयेलले चिल्लागढधाम परिसरभित्र शिवालय मन्दिर, किरात हाङसाम माङहिम (मन्दिर), दुर्गा मन्दिर र भगवती मन्दिरहरु रहेको र सो मन्दिरहरु सञ्चालनका लागि छुट्टाछुट्टै समितिहरु रहेको जानकारी दिए । उनले शिबरात्री मेलालाई व्यवस्थित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सोही मन्दिर समितिहरु मार्फत कामको बाँडफाँड गरि जिम्मेवारी छुट्याइएको बताए ।
पत्रकार सम्मेलनमा पंण्डित दिनानाथ खतिवडाले पाँच पाण्डम र कौरवहरुबीच युद्धबाट पराजित बनेका पाण्डवहरु यस स्थानमा आएर तपस्या गर्नुका साथै यहाँ होमादी गरी नजिकैको सताक्षीधाम, अर्जुनधारा, बिराटपोखरी लगायतको क्षेत्रमा पाण्डवहरु गुप्तवास बसेको प्राचीन कथाहरुमा उल्लेख भएको बताए । उनले धार्मीक दृष्ट्रिकोणले चिल्लागढधामको चर्चा रहेर पनि पछिल्लो समय अरु धार्मीक तीर्थस्थलहरुको तुलनामा विकासले गति लिन नसकेकोमा दुखेशो व्यक्त गरे ।
त्यस्तैं, ६१ वर्षदेखि चिल्लागढधामको भगवती मन्दिर कुटी (छाप्रो) मा बसिआएकी तुलसादेवी काफ्लेले चिल्लागढधामलाई चारधाम बनाउन पत्रकार सम्मेलनमा बिचार राखेका थिइन् । उनले यस स्थलको महिमा धेरै ठूलो भएर पनि पछि पर्नुमा के के कारण हो आफुले बुझ्न नसकेको बताइन् ।
पत्रकार सम्मेलनमा चिल्लागढधाम व्यवस्थापन समिति पर्यटकीय उपाध्यक्ष किरण लिङदेन, तत्कालिन शिबगञ्ज–९ का वडा अध्यक्ष तथा हालः शिबसताक्षीका बुद्धिजीवि केन्द्र लिङदेन, शिवालय तथा दुर्गा मन्दिरका पुजारी पंण्डित नारदप्रसाद पौडेल, महेश्वर अधिकारीले चिल्लागढधाममा शिवरात्री मेला सम्पन्न गर्न आ–आफ्ना बिचार र सुझावहरु राखेका थिए ।
