दमक, २८ माघ–झापाको अर्जुनधारामा शनिश्चरे तेक्वान्दो दोजाङ्गले आयोजना गरेको नगरपालिका स्तरीय जिल्ला तेक्वान्दो प्रतियोगितामा दमक सगरमाथा तेक्वान्दो दोजाङ्गका खेलाडीहरुले सहभागिता जनाएका छन् । सो प्रतियोगितामा दमक सगरमाथा तेक्वान्दो दोजाङ्गका एक खेलाडीले स्वर्ण पदक हात पार्न सफल भए भने एक जनाले रजत र तीन जना खेलाडीले कास्य पदक हात पार्न सफल भएका छन् ।
दमक सगरमाथा तेक्वान्दो दोजाङ्गका अध्यक्ष जीतु धिमालका अनुसार विभिन्न तौल समुह अन्तर्गत भएको प्रतियोगितामा दमकबाट सहभागिहरु मध्ये ३८ केजी तौलतर्फ जुनु साँवाले स्वर्ण पदक हात पारिन । त्यस्तैं, ५४ केजी तौलतर्फ दिपशिखा सम्बाहाम्फेले रजत पदक हात पार्न सफल भइन् भने ४२ केजीमा देन्सु योगी, ४४ केजीमा गरिमा बस्नेत र ४५ केजी पुरुषतर्फ सलिन देवानले कास्य पदक हात पारेका थिए ।
हालै, दमक सगरमाथा तेक्वान्दो दोजाङले दमकमा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा झापा, उदयपुर, इलाम, मोरङ र सुनसरीका खेलाडीहरुले २२ वटा क्याटुकुरीमा प्रतिस्पर्धा गरेका थिए । दमकस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा तेक्वान्दो दोजाङ्गका खेलाडीहरुको हौसल्ला र सम्मानका लागि खेल आयोजना गरिएको अध्यक्ष धिमालले जानकारी दिए ।
दमक सगरमाथा तेक्वान्दो दोजाङ्ग बेलायतस्थित संस्थापक, अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक राष्ट्रकुमार राईको उपस्थितिमा प्रतियोगिता सम्पन्न भएको थियो ।
