दमक, १ फागुन–झापाको दमकस्थित कदम थिएटरमा भोली (मंगलबार, २ फागुन) बाट ‘गाई की त्रिशुल’ नाटक मञ्चन हुने भएको छ । कदम थिएटरका कलाकारद्धय मनिक शंकर र दिपक खरेलद्धारा संयुक्त रुपमा निर्देशन भएको नाटक ‘गाइ की त्रिशुल’ मञ्चन गर्न लागेको हो ।
दमक-५ हरिओम कोलनीस्थित सर्वोदय बोर्डिङ स्कुलसँगको सहकार्यमा मञ्चन हुन लागेको नाटकमा बालमनोविज्ञानलाई समेटिएको निर्देशक दीपक खरेलले जानकारी दिए । ‘बालबालिकाले नियमित रुपमा पाउने दुई रुपैयाँको अभावपछि उनीहरुको मनोविज्ञानमा परेको असरलाई नाटक गाई कि त्रिशूलले समेटेको छ,’ खरेल भन्छन्-‘यो नाटक बालबालिकाद्वारा अभिनय गरिएको, बालमनोविज्ञान बोकेको नाटक हो । नाटक बालमैत्री पनि छ । तर यसलाई बाल नाटक भन्न हामी रुचाउँदैनौँ ।’
सामाजिक र राजनीतिक उथलपुथलले विद्यालयमा पढ्दै गरेका बालबालिकाहरुको मनोविज्ञानमा पुर्याएको असरलाई नाटकमार्फत देखाउन खोजिएको निर्देशक खरेल बताउँछन् ।
चुलाचुली रंगमञ्च चुलाचुली इलामको नाट्य पाठशालामा मञ्चन भएको नाटक चकलेटलाई थप परिमार्जन गरेर नाटक गाई कि त्रिशूल मञ्चन गर्न लागिएको निर्देशक मनिक शंकरले जानकारी दिए ।
प्रकाश शर्मा अधिकारी र सिजन दाहालले नाट्य रूपान्तरण गरेका हुन् । सो नाटकलाई कदम थिएटरका कलाकार दिपक खरेल र मनिक शंकरले निर्देशन गरेका छन् । यो नाटक फागुन २ गतेदेखि ८ गतेसम्म मञ्चन हुने भएको छ ।
नाटकमा दिप्लक राई, कुशल बस्नेत, नम्रता ओझा, गरिमा बस्नेत, अनिस्मा पौडेल, आयुस भण्डारी, सनोज तामाङ, इशान केरुङ लिम्बू, निराजन बस्नेत, मञ्जिल लिम्बु र एलेक्स नेपालीले अभिनय गरेका छन् ।
