काठमाडौँ, १० फागुन–नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रपतिको आकांक्षा राख्न नहुने बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि सार्नु उचित नहुने समेत बताए । उनले पूर्व प्रधानमन्त्रीहरूलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न समेत आग्रह गरे । महामन्त्री शर्माले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाऔँ भनेको हो । देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरिसकेका कुनै पनि पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु, उहाँहरूलाई अगाडि सार्नु त्यति उचित नहोला भन्ने साथीभाइहरूको भावनासँग म एकदम सहमत छु । त्यस कारण पूर्व प्रधानमन्त्रीहरू समेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरूलाई अगाडि सारेर जानु बढी उचित हुन्छ ।’

महामन्त्री शर्माले प्रधानमन्त्री पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको टिप्पणी समेत गर्न भ्याए । ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई प्रधानमन्त्रीको पद देखाएर अलमल्याउन खोजेको उनले आरोप लगाए ।

राष्ट्रपति चुनावको सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा आउनुपर्ने उनको भनाइ छ ।

महामन्त्री शर्माले पुरानो गठबन्धन ब्युँतिदा जनमतको कदर हुने पनि बताए । संसद्को दोस्रो ठूलो दलले सभामुख र तेस्रो ठूलो दलले प्रधानमन्त्रीको पद लिएको अवस्थामा संसद्को पहिलो दल हुनुका नाताले कांग्रेसले राष्ट्रपतिको पद पाउनुपर्ने उनको भनाइ थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *