दमक, १४ फागुन–जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठनका केन्द्रिय सदस्य तथा आदिवासी जनजाति विद्यार्थी नेता शुनिल हताछो राई आज दमकमा एक कार्यक्रमबीच नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघमा प्रवेश गरेका छन् । उनी संगै जसपा निकट विद्यार्थी संगठनका प्रदेश १ सदस्य तथा लिम्बू विद्यार्थी मञ्चका नेता दीपक मादेन लिम्बु लगायत ३ सय बढी विद्यार्थीहरु कांग्रेस सम्बद्ध नेविसंघमा प्रवेश गरेका हु्न् ।
दमकस्थित नेपाली कांग्रेसको नगर समितिको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नव प्रवेशीहरुलाई पार्टीका प्रदेश १ का सदस्य तथा तरुण दल झापाका पूर्व सभापति भूमिराज राई लगायतका पार्टीका नेताहरुले अविर, फूलमाला र खादा लगाएरका थिए । पार्टी प्रवेश कार्यक्रमपछि प्रमुख अतिथि समेत रहनुभएका नेता राईले नेपाली कांग्रेसले बोकेको समाजवादप्रतिको आस्था, बिचार र सिद्धान्तलाई बचाएर लैजान आजका युवाहरुको आवश्यकता र भूमिका महत्वपूर्ण रहने बताए ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस झापाका उपसभापती शेरबहादुर भट्टराई, पूर्वसांसद विश्वदीप लिङदेन, महाधिवेशन प्रतिनिधि चन्द्रा खड्का भट्टराई, नेपाल विद्यार्थी संघ झापाका सभापति सञ्जय निरौला, कांग्रेस दमक सभापति प्रकाश प्रसाई, क्षेत्र नं ५ का सभापति ढुण्डिराज भण्डारी, क्षेत्र नं ५ प्रदेश २ का सभापति रबि केसी न्यौपाने, नेत्री मन्दरा पौडेल, शहदेब भट्टराई, नवराज ढकाल लगायतका नेताहरुको उपस्थिति थियो ।
सो अवसरमा नवप्रवेशीको तर्फबाट विद्यार्थी नेता शुनिल हताछो राईले आफ्ना बिचारहरु राखेका थिए । नेविसंघ दमक नगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेविसंघ दमक नगर सभापति विशाल अधिकारीको अध्यक्षतामा र नेविसंघ कमल अध्यक्ष जीतेन साङपाङले सहजिकरण गर्नुभएको थियो ।
