दमक, १५ फागुन–नेपाल माझी उत्थान संघ झापाले आफनो महान चाड कोशी अर्थात लदी पूजामा सार्वजनिक विदा दिन माग गरेका छन् ।
संघका अध्यक्ष कृष्ण माझीले पत्रकार सम्मेलन गरि माझी समुदायहरुले प्रत्येक वर्षको फागुन महिनाको तेस्रो मंगलबार अर्थात १६ फागुनमा लदी पूजा पर्ने भएकाले त्यस दिन सार्वजनिक विदा दिन माग गरेका हुन् ।
माझीहरुको धर्म, संस्कृति, र कोशी (लदी) पूजाको महत्व र यसलाई संरक्षण गर्न राजनीतिक दल, नेतृत्व र सरकारको तर्फबाट वेबास्ता गरिएकोमा उनले दुखेसो व्यक्त गरे ।
अध्यक्ष माझीका अनुसार पूजाका अवसरमा झापाका माझीहरुले पूर्वको प्रसिद्ध पर्यटकीयस्थल दोमुखास्थित कनकाई नदीमा सामूहिक रुपमा पूजा मनाउदै आएका छन् ।
माझी समुदायको जनजीवनमा आधारित जलदेवी अर्थात जल देवी–देउताको पुजा गरिन्छ । साथै, मौलिक वेषभुषा, खानपान, बाजागाजा, नृत्य, धामी, झ्याक्री, माछा मार्ने जाल, औजार, हातहतियारहरु प्रर्दशन गरिनुका साथै आदिम कालदेखि सुरुवात गरिएको ढुङ्गगालाई पूजा गरिने कार्यक्रम रहेको उनले बताए ।
त्यस्तैं, पूजा भव्य रुपमा सम्पन्न गर्न आवश्यक विभिन्न उपसमितिहरु गठन गरिएको छ । झापामा झण्डै १४ हजार बढी संख्यामा बसोबास गरिआएका छन् ।
माझीहरुको विशेष सघन बसोबासको हिसावले शिवसताक्षीमा धेरै संख्यामा माझीहरु बसोबास रहेको संघले जनाएको छ । त्यस्तैं, अर्जुनधारा, दमक र कमलमा समेत माझीहरुको विशेष बसोबास रहेको छ ।
