दमक, १७ फागुन–१५औं ह्विलचियर दिवसको अवसर पारेर आज दमक नगरपालीकाले आपङ्गता भएका व्यक्तिहरुलाई ह्विल चियर वितरण गरेको छ । रोटरी क्लबको सहयोगमा दमकसहित प्रदेश १ को एक दर्जन विभिन्न जिल्लाका पालिकाहरुमा रहेका १६५ जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरिएको हो ।
नगर उप प्रमुख रेगिना भट्टराईको अध्यक्षता र नगर प्रमुख राम थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ह्विलचियर वितरण गर्दै प्रमुख अतिथि थापाले जोकसैलाई पनि यस्तो अवस्था आईपर्न सक्ने भन्दै अपाङ्गताको समस्या सबैको साझा समस्या भएको बताउनु भयो । अपाङ्गता भएका व्यक्तिले पनि समाजलाई योगदान दिन सक्ने भएकोले उनिहरुको क्षमतालाई समाजको लागी उपयोग गर्नु पर्ने बताउनु भयो ।
दमक अपाङ्ग सहयोग समितिको समन्वयमा भएको ह्विलचियर वितरण कार्यक्रममा कलाकार मनोज गजुरेल, हपाङ्गताको क्षेत्रमा काम गर्ने प्रा.डा.तत्वप्रसाद तिम्सिना लगायतले बोल्दै कुनै पनि रुपमा मानवबीच भेदभाब गर्न नहुने बताउनु भयो । शारिरिक रुपमा फरक भए पनि समाजमा सबैको योगदान उत्तिकै भएकोले बनावटका आधारमा बिभेद गर्न नहुने बताउनु भयो ।
शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिलाई हिडडूल गर्न सहज होस भनेर ह्विल चियर वितरण गरिएको नगर उपप्रमुख रेगिना भट्टराईले बताउनु भयो । यस्ता मानविय सेवाका कार्यक्रमहरु गर्दा आफुलाई आत्म सन्तुष्टि हुने उहाँले बताउनु भयो ।
कार्यक्रमका सञ्चालक तथा अपाङ्गता सम्बन्धी अधिकारका क्षेत्रमा क्रियाशिल मदन कुमार बोहोराका अनुसार दमकसहित झापाको बुद्धशान्ति, शिबसताक्षी, कमल र गौरादह छन् भने मोरङको मिक्लाजुङ, इलामको चुलाचुली लगायतका पालिकाहरुमा रहेका शारीरिक रुपमा अपाङ्गता भएका व्याक्तिहरुलाई ह्रिल चियर बितरण गरिने छ ।


