बिर्तामोड, १८ फागुन–प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता गर्व लायक रहेको बताउनुभएको छ ।
झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज यहाँ आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा सम्बोधन गर्दै उहाँले ठूला र विकसित भनिएका मुलुकमा भन्दा नेपालमा महिला सहभागिता धेरै रहेकाले गर्वलायक रहेको बताउनुभयो ।
“धेरै विकसित मुलुकमा पाँच, १०, १५ देखि २५ प्रतिशत महिला सहभागिता रहेको छ”, उहाँले भन्नुभयो, “नेपालमा संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ, यसलाई बढाएर ५० प्रतिशत पुर्याउनु पर्छ ।”
महिला अधिकार स्थापित गर्न र समानताका लागि संघर्ष गर्नुपर्ने अवस्था विद्यमान रहेको उहाँको भनाइ छ । हरेक क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक रहेको बताउँदै उहाँले बेथितिविरुद्ध ‘एक्सन’मा उत्रिन जरुरी रहेको औंल्याउनुभयो । उहाँले यौनिक, अपाङ्गता र भूगोलका आधारमा समेत महिला सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
“राजनीतिमा महिला पार्टीको रबर स्बर स्टाम जस्तै भएको छ”, उहाँले भन्नुभयो, “राजनीतिक बेथितिका विरुद्ध लाग्न जरुरी छ ।” उहाँले राजनीतिमा पार्टी र पार्टीको साइज अनुसार गरिने व्यवहारको अन्त्य गरिनुपर्नेमा जोडदिनुभयो ।
वीरता लेडी जेसीजले यस वर्ष पाइलट जीना लिङ्देनलाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको छ । वीरता लेडी जेसीजले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट नारी सम्मान कार्यक्रम अन्तरगत यस वर्ष प्राविधिक विधातर्फ लिङ्देनलाई सम्मान गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले जानकारी दिनुभयो ।
वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरुको सक्रियतामा सन् २०२१ देखि नारी दिवसको अवसरमा झापा जिल्लामा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने एक जना महिलालाई प्रत्येक वर्ष फरक–फरक विधामा उत्कृष्ट नारी सम्मानद्वारा सम्मानित गरिँदै आएको छ ।
