विराटनगर, २६ फागुन–तुलसी बहुमुखी सहकारी संस्थाको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले छानबिन गर्ने भएको छ।

विराटनगरमा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको अनियमितता प्रकरणमा सहकारी विभागद्वारा नेपाल प्रहरीको सिआइबीलाई छानबिनका लागि अनुमति दिँदै पत्राचार गरेपछि अनियमितताबारे अनुसन्धान शुरु गरिने भएको हो।

विराटनगरमा रहेको उक्त सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ। सहकारीमा सेवाग्राहीले बचत गरेको करिब १ अर्ब ४५ करोड रुपैयाँ हिनामिना भएको हुनसक्ने आशङ्का गरिएको छ।

प्रहरी नियन्त्रणमा रहेकी सचिव सविना न्यौपाने र उपाध्यक्ष अनिता गौतमलाई सिआइबीले अनुसन्धानको दायरामा ल्याउनेछ भने अध्यक्ष केदारनाथ शर्मा तथा अन्य सञ्चालक तथा व्यवस्थापकहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन लागेको छ।

सहकारी विभागले र केन्द्रीय अनुसन्धान ब्यूरोबाट पनि अनुसन्धान गर्न पत्राचार भइसकेको मोरङ प्रहरीले जनाएको छ।

हाल छलफल भइरहेको र चाँडै अनुसन्धान शुरु हुने जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए। सहकारीको सञ्चालक समितिका साथै व्यवस्थापकहरूको सम्पत्ति रोक्का गर्ने, बैंक खाता रोक्का गर्ने र अनुसन्धान अघि बढाइनेछ।

सहकारीका अध्यक्ष अझै फरार
सहकारीमा समस्या देखापरेसँगै फरार रहेका अध्यक्ष केदारनाथ शर्मा नेपालमा छैनन्। यस्तै सञ्चालक समितका सदस्यहरू समेत सम्पर्कविहीन छन्।

सदस्यहरूमा छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टी अधिकारी छन्। सदस्यहरू आदित्यराज भट्टराई, प्रमुख प्रबन्धक मन्दिप खवास र प्रबन्धक सुरुचि पोखरेल भने स्थानीय प्रशासनको सम्पर्कमा रहेको जनाइएको छ।

आवश्यक सहयोगका लागि माग

सहकारीकी उपाध्यक्ष अनिता गौतमले भने जिल्ला प्रशासन कार्यालय मोरङ, सहकारी विभाग काठमाडौं र प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गर्दै समस्या समाधानका लागि आवश्यक सहयोगको माग गरेकी थिइन्।

यसैबीच बचतकर्ताहरूको अत्यधिक दबाब आएपछि उपाध्यक्ष गौतमले सबै सञ्चालक समितिका पदाधिकारीको तीनपुस्ते विवरण पनि जिल्ला प्रशासन कार्यालयमा बुझाएकी छिन्।

विराटनगर–३ मा मुख्य कार्यालय रहेर तुलसी बहुउद्देश्यीय सहकारी संस्थाको विराटनगरमा ५ हजारभन्दा बढी बचतकर्ता छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *