दमक, २७ फागुन–दमक सगरमाथा तेक्वान्दो दोजाङका अध्यक्ष जितबहादुर (जितु) धिमालको अध्यक्षतामा सम्पन्न बैठकले समितिको पदाधिकारी र सदस्यहरु चयन गर्नुको साथै सल्लाहकार समिति समेत गठन गरेको छ ।
शनिबार, दमकमा सम्पन्न बैठकले नौ सदस्यीय दमक सगरमाथा तेक्वान्दो दोजाङको उपाध्यक्षमा नबिन योगी, सचिवमा रोशन दाहाल, कोषाध्यक्षमा प्रतिभा तामाङ र सदस्यहरुमा विध्या राई, रामचन्द्र अधिकारी (आरसी), कल्पना राई छन् । अन्य दुई सदस्य आगामी बैठकले चयन गरिने दमक सगरमाथा तेक्वान्दो दोजाङका अध्यक्ष धिमालले जानकारी दिए ।
त्यस्तैं, संस्थाको सल्लाहकार समितिको संयोजकमा दमकका अग्रज फुटबल खेलाडी गजेन्द्र देवान, पूर्व सांसद महेन्द्रकुमारी लिम्बू, सगरमाथा तेक्वान्दो दोजाङ युके (बेलायत) का प्रशिक्षक तथा अन्तराष्ट्रिय खेलाडी राष्ट्र कुमार राई, लेखक तथा साहित्यकार शंकर चापागाई (धनकुटे कान्छा), पत्रकार अनिलदेब राई छन् ।
दमक सगरमाथा तेक्वान्दो दोजाङले कोठमाण्डौंस्थित राष्ट्रिय खेलकुद परिषद अन्तर्गत तेक्वान्दो संघमा दर्ताको प्रमाणपत्र पाइसकेको छ । सो क्रममा दोजाङको अध्यक्षमा धिमाललाई जिम्मेवारी दिइएको बेलायतस्थित दोजाङका संरक्षक समेत रहनुभएका प्रशिक्षक तथा अन्तराष्ट्रिय खेलाडी राष्ट्र कुमार राईले जानकारी दिए ।
यसअघि, दमक सगरमाथा तेक्वान्दो दोजाङले दमकमा प्रदेश स्तरीय तेक्वान्दो दोजाङ खेलको विकास र खेलाडीहरुको प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष धिमालले बताए । अध्यक्ष धिमालका अनुसार आगामी बैठकले संस्थाको कानुनी सल्लाहकार लगायत अन्य उपसमितिको समेत टुङ्गो लगाइने छ ।
