काठमाडौं, २७ फागुन–लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले भोलिको प्रदेश बन्द आह्वान गर्दै पूर्वी १४ जिल्लमा राँके जुलुस निकालेका छन्।

प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नाम राखिएको विषयलाई लिएर किरात राई यायोक्खा, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, लिम्बुवान लगायत एक दर्जन जातीय सङ्गठनले शनिबार जुलुस निकालेका हुन्। प्रदेश संसद्ले एकलौटी ढङ्गले प्रदेशको नामाकरण गरेको भन्दै विरोध स्वरूप आइतबार प्रदेश नम्बर १ बन्दको आह्वान समेत गरेका छन्। पहिचान मेटिने गरी पूर्वको १४ जिल्लामा रहेका विभिन्न जातिहरूलाई धोका दिएको भन्दै उनीहरूले विरोध गरेका हुन्।

जातीय पहिचानसहितको प्रदेशको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका पहिचान पक्षधर जातीय समूहले आन्दोलन चर्काउने घोषणा गरेका छन् । कोशी प्रदेश नामाकरणको निर्णयप्रति असन्तुष्टि जनाउँदै पूर्वका जातीय समूह संगठीत भएर आन्दोलन चर्काउने घोषणा गरेका हुन्।

विगतमा किरात, लिम्बुवान, कोचिला लगायतका राज्य माग गरेर थुप्रै सडक आन्दोलन भएका थिए । चैत ५ गते विराटनगरमा विशाल जनप्रदर्शन गरेपछि थप कार्यक्रम घोषणा गरिनेछ ।आन्दोलनका कार्यक्रम अन्तर्गत नै फागुन २८ गते कोशी प्रदेशमा हामहड्ताल आह्वान गरिएको छ।

आन्दोलन घोषणाका क्रममा किरात याक्थुङ् चुम्लुङ्का केन्द्रीय अध्यक्ष प्रेम येक्तेनलले कोशी प्रदेशको नामाकरण खारेज नभए नराम्रो परिणम निम्तीने चेतावनी दिए । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे शर्पाले कोशी प्रदेशको नामाकरण पञ्चायतको पुर्नरावृत्तिको रुपमा नामाकरण भएको र शासक वर्गको अनुकुल नाम भएकाले आन्दोलन गर्नुपरेको बताए । ‘हामीले पहिचानसहितको संघीयता चाहेका हौं,’ उनले भने, ‘पञ्चायतले तोकेको अञ्चल त हिजैका दिनमा छदै थियो निरु।’

पत्रकार सम्मेलनमा किरात धर्म तथा साहित्य उथ्थान समितिका केन्द्रीय अध्यक्ष डकेन्द्र सिंह थेगिमले छापामार शैलीमा एकल पहिचाना आधारमा नामाकरण गरिएकाले गर्दा पुनः नामाकरण गर्नुको विकल्प नभएको बताए। पुनः नामाकरण नहुन्जेलसम्म निरन्तर आन्दोलन गरि रहने उनले बताए । यही फागुन १७ गते बसेको प्रदेश सभा बैठकबाट प्रदेश १ को नामकरण कोशी प्रदेश राख्ने निर्णय गरेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *