दमक, ८ चैत–झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था १४औं वर्षमा प्रवेश गरेको छ । संस्थाले १४औं स्थापना दिवसको अवसर पारेर सदस्यहरुलाई लक्षित गर्दै सदस्य शिक्षा, आँखा शिविरसहित सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रोत्साहन हुने कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
यसैबीच, हिजो (मंगलबार) झापाको शिबसताक्षी–८ झिलझिलेस्थित सेवा केन्द्रमा स्थापना दिवस मनाइएको छ । झिलझिले सेवा केन्द्रमा संस्थाका सदस्यहरुलाई सहकारी सम्बन्धी सदस्य शिक्षा, आँखा शिविर कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरबीच झिलझिले माध्यमिक विद्यालयको कक्षा–१ देखि ५ मा अध्ययनरत २५ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला (ब्याग) वितरण गरिएको संस्थाको दमकस्थित मुख्य कार्यालयका प्रमुख व्यवस्थापक कलम कुमार घिमिरेले जानकारी दिए ।
त्यस्तैं, आज (बुधबार) मोरङको उर्लाबारीस्थित सेवा केन्द्र अन्तर्गत स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संंस्थाले १४औं स्थापना दिवस मनाएको छ । उर्लाबारी सेवा केन्द्र मार्फत सदस्य शिक्षा कार्यक्रम गरिनुका सार्थै आँखा शिविर गरी स्थापना दिवस मनाइएको हो । सो क्रममा राधिका माध्यमिक विद्यालयको कक्षा १ देखि ५ मा अध्ययनरत विद्यार्थीहरुलाई झोला (ब्याग) वितरण गरिएको संस्थाका प्रमुख व्यवस्थापक घिमिरेले बताए ।
यसैगरी, भोली (विहिबार) कनकाई नगरपालिकाको सुरुङ्गा सेवा केन्द्र र शुक्रबार गौरादहस्थित सेवा केन्द्र अन्तर्गत संस्थाले १४औं स्थापना दिवस मनाउने तयारी गरेको छ । संस्थाको झिलझिले, उर्लाबारी, सुरुङ्गा र गौरादहसहित ४ वटै सेवा केन्द्रमा स्थापना दिवस मनाइसकेपछि दमकस्थित मुख्य कार्यालयमा चैत ११ गते शनिबारका दिन विभिद कार्यक्रमहरुसहित १४औं स्थापना दिवस समापन गरिने भएको छ ।
समापन समारोहमा संस्थाको वित्तीय अवस्था, सदस्यहरूबीच जारी गरेको विभिन्न योजना, आगामी कार्यक्रम, संस्थामा सदस्यहरूको भूमिका, संस्थाले सदस्यलाई प्रदान गर्दै आएको सेवा र त्यसवाट उपलब्धीहरुका बारेमा समिक्षा गरिने घिमिरेले जानकारी दिए ।
