झिलझिले, ९ चैत–शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम दिइएको छ। नगरपालिकाका ११ वटै वडाका वडासदस्यहरुलाई लक्षित गरेर तालिम दिइएको हो ।
शिवसताक्षी नगरपालिकाको आयोजना र विराट प्राविधिक शिक्षा एवम परामर्शको प्राविधिक सहयोग दिइएको तालिम आज समापन गरिएको हो ।
तालिम जनप्रतिनिधिहरुलाई काम गर्दै जाँदा आउने समस्याहरुका विषयहरुमा केन्द्रिरहेको थियो । त्यस्तै वडा सदस्यहरुको काम, कर्तव्य, अधिकार, वडा सदस्यहरुको आचारसंहिता, योजना छनोट लगायतको विषयमा तालिम दिइएको नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए ।
तालिमको समापनका क्रममा बोल्दै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले तालिममा लिइएको ज्ञान र सीपलाई व्यवहारमा लागु गर्न वडा सदस्यहरुलाई सुझाइन । उनले जनप्रतिनिधि भएपछि जिम्मेवारी धेरै हुने र आफ्नो क्षेत्राधिकार र विनियमले तोकेको सीमा भित्र रहेर काम गर्नु पर्ने भएकाले यस्ता तालिमले धेरै सहयोग पुग्ने धारणा व्यक्त गरिन् ।
तालिम पश्चात नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।
तालिमको सहजीहरण विराट प्राविधिक शिक्षा एवम परामर्शका सहजकर्ता विजय तिम्सिनाले सहजीकरण गरेका थिए।
