दमक, १२ चैत–झापाको हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष तथा नेकपा (एमाले) झापाका युवा नेता डम्बर गिरी नेकपा (एकिकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ ।
उहाँले गत प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनमा झापा क्षेत्र नं ३ मा एमालेबाट बाघी उमेद्वारी समेत दिनुभएको थियो । उनले झापामा एमालेले राप्रपासग तालमेल गरेको विषयलाई आपत्ति जनाउदै एमालेबाट बिद्रोह गरेका थिए ।
एमाले झापा क्षेत्र ३ का पूर्व क्षेत्रीय संयोजक समेत रहनुभएका उहाँले एमालेको युवा संगठन युवा संघ नेपालको झापा अध्यक्ष भएर समेत जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
उनले आफ्नो फेसबुकमा यस्तो लेखेका छन्ः
–आज मिती २०७९ चैत्र ११ गतेदेखि मेरो आफ्नो कम्युनिस्ट पार्टीको सदस्यता नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा नविकरण गरेको घोषणा गर्दछु । नेपालको कम्युनिस्ट आन्दोलनलाई ठीक ढंगले अगाडि बढाउनका लागि यो पार्टी नै आजको दिनमा सर्वाधिक उपयुक्त मंच हो । नेपालका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई समेत नेकपा (एकीकृत समाजवादी) मा समाहित भई नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठनको अभियानमा सामेल हुन आह्वान समेत गर्दछु ।

