दमक, १७ चैत– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, संघीयता र संविधानको रक्षाका निम्ति पार्टीको तर्फबाट अर्थपूर्ण भूमिका खेल्दै आइरहेको बताएका छन् । मुलुकको विकास, परिवर्तन र समृद्धिको निम्ति एकीकृत समाजवादीको योगदान नेपाली राजनीतिमा सुनौलो अक्षरमा लेखिएको भन्दैं नेता नेपालले नयाँ सोच, योजना, उर्जा, हौसल्ला र सक्रिय सहभागिताको लागि झापाली अगुवा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
झापाको भद्रपुरमा दुई दिने अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ज्ञान, सीप र उर्जालाई देश विकास र परिवर्तनमा प्रयोग गर्न आवश्यक रहेको बताए । उनले नयाँ पुस्ताका क्षमतावान व्याक्तिलाई जिम्मेवारी दिएर पार्टी संगठनदेखि देशको विकास र परिवर्तनमा सहभागिता गराउन जरुरी रहेको बताए ।
दुई–दुई पटक संसद् विघटन गरेर संविधान कुल्चनेका विरुद्ध गठबन्धन बनेको हो, नेपालले भने । उनले दुई–दुई पटक संसद् विघटन गरेर संविधान कुल्चने काम भयो, मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशिस भएको स्मरण गरे । उनले भने, ुत्यसको विपक्षमा हामी उभियौँ, गणतन्त्र, संघीयता र संविधानको रक्षार्थ गठबन्धन शक्तिशाली हुनुपर्ने जोड दिए ।
सोही कार्यक्रमबीच नेकपा (एमाले) झापाका नेता तथा हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी, एमाले झापाकी नेता मिना राजवंशी, नेपाल समावेशी पार्टीका केन्द्रीय प्रवक्ता रामबहादुर थापा (बाबुराम), एमाले निकट युवा संघ झापाका नेता अनिल मेचे, दिलिप राया, निमेश राजवंशी लगायतलाई अध्यक्ष नेपालसहित अन्य नेताहरुले पार्टी प्रवेश गराएका थिए ।
एकीकृत समाजवादी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले बदलिंदो विश्वव्यवस्था, कम्युनिस्ट आचरण र नैतिकता, उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले पार्टी निर्माणको नयां दिशा, पोलिटव्यूरो सदस्य धर्म निरौलाले संगठनात्मक सिद्धान्त तथा पार्टी अभियान विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा झापा जिल्ला इन्चार्ज पुष्पराज पोख्रेल, केन्द्रीय सदस्य शारदा शर्मा, निलमणी बराल, अशेष घिमिरे लगायत पार्टीका विभिन्न कमिटीका अगुवा नेताहरुको उपस्थिति थियो । शनिबार (भोली) पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र कोशी प्रदेश कार्यवाहक अध्यक्ष धर्मराज पौडेलले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।



