काठमाडौं, १८ चैत–संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन्।
शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री किराीले पशुपति क्षेत्र परिसरमा सफाई गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरूले पशुपति क्षेत्र विकास कोष जताबाट कमिशन आउँछ, त्यतै लाग्ने बताएका छन्।
मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको पनि बताउँदै उनले त्यहाँ जाने दर्शनार्थीहरूले ट्वाईलेट आफूलाई सोधेको र आफू पनि टवाईलेट खोज्दै हिड्नुपर्ने अवस्था आएको पनि बताए।
‘पशुपतिनाथ सरसफाई पनि पर्यटक बढाउनका लागि हो। यसको ठूलो उद्देश्य छ। आज म धेरै नै फोहोरमा पसेको छु। साथीहरूले डाँडाडाँडा सफा गरेर हिँड्थ्यो। प्लाष्टिक मात्रै भेटिन्थ्यो। आज चाँही धेरै नै फोहोर देखेर म आफैं पनि साह्रै लज्जित भएर फर्केको छु। हाम्रो प्रवृत्ति कस्तो भयो भने मन्त्री भईसकेपछि गाडीबाट तल नझर्ने। कर्मचारी सिमित जागिर मात्रै खाने हो भन्ने ठान्ने। विकास कोषका साथीहरू कहाँबाट कमिशन आउँछ, खाली त्यतै मात्रै लाग्ने।
आज त्यहाँको सबै जनताले भने नि त,’ मन्त्री किरातीले भने, ‘त्यहाँको पसलदेखि लिएर बसको पैसा उठाएर फोहोर सफा नगर्नेदेखि लिएर अव संस्कृति जनतामा कस्तो भने कुकुर डोहोर्याउँदै जाने, मोर्निङ वाकमा जाँदाखेरी अर्को हातमा प्लाष्टिकमा होफोर फ्याँकेर हिँडने। हामी सबै सुध्रिनुपर्ने देखिन्छ। पर्यटनको पहिलो आधार भनेकै सरसफाई हो। जहाँ हामी सफाई नै गर्दैनौं। धेरै मानिसहरूले आज मलाई ट्वाईलेट कता भनेर सोध्यो पशुपतिनाथमा। म आफैं ट्वाईलेट खोजी हिँडदै थिए। कति गाह्रो छ। हामी चौतर्फी पर्यटनमा एउटा कम्पन ल्याउनका निम्ति कोसिस गर्दैछौं। त्यसमा यो पनि एउटा आधार भएको छ।’
