गौरीगंज, १८ चैत–दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिकामा नेपाली कांग्रेस वडा समितिलाई कार्यालय प्रयोजनका लागि दजार वितरण गरिएको छ । शनिबार, गौरीगंजमा एक कार्यक्रमको आयोजना गरी ४ वटा वडा समितिलाई दराज वितरण गरिएको हो ।
नेपाली कांग्रेसका नेता जितु धिमालका अनुसार केन्द्रीय सदस्य तथा पुर्व सांसद महेन्द्रा कुमारी लिम्बु र नेपाली कांग्रेस झापा क्षेत्र नं। ५ का सभापति ढुण्डीराज भण्डारीको संयुक्त सहयोगमा गौरीगंज गाउँपालिकाका ३, ४, ५ र ६ वटा वडा समितिलाई दराज वितरण गरेका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व सांसद महेन्द्रा कुमारी लिम्बुको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेसको कोशी प्रदेश कार्य समिति सदस्य तथा गौरीगंज गाउँपालिका अध्यक्ष फूलवती राजवंशी, प्रदेश कार्य समिति सदस्य भुमिराज राई, क्षेत्रिय सभापति ढुण्डीराज भण्डारीले संयुक्तरूपमा वडा कार्य समिति सञ्चालनका लागि सभापतिहरूलाई स्टिल दराज हस्तान्तरण गरिएको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं ३ स्थित स्नोह्वाईट बोर्डिङ्ग स्कुलको सभाहलमा सम्पन्न कार्यक्रममा वडा नं ३ का सभापति यादव श्रेष्ठ, वडा नं ४ का सचिव दिवस राजवंशी, वडा नं ५ का सभापति सन्तोष कुमार गन्गाई, वडा नं ६ का सभापति बद्रीनारायण यादवले दराजको चाबी लिएका थिए ।
पार्टीको मुख्य मियो वडा कार्यसमिति भएकोले चलायमान राख्न वडा समितिलाई दराज वितरण गरिएको कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व सांसद महेन्द्रा लिम्बुले बताईन् । पार्टी संगठनलाई मजबुत र चलायमान राख्न यस किसिमको कार्यक्रमले थप बल पुग्ने भएकोले आफुले दराज सहयोग गरेको केन्द्रीय सदस्य लिम्बुले बताईन् ।
कांग्रेस पुर्व जिल्ला सदस्य तथा निवर्तमान गौरीगंज उपाध्यक्ष दिपिन्द्र थापाले स्वागत गरेको कार्यक्रममा महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यहरू, प्रदेश सभापति, पुर्वी महाधिवेशन प्रतिनिध, क्षेत्रिय समितिका पदाधिकारीहरू, पालिका सभापतिहरू, गाउँ समितिका पदाधिकारीहरू, वडा सभापतिहरू, क्षेत्रिय प्रतिनिधिहरू तथा क्रियाशिल सदस्यहरूलगायत भातृ संघ संस्थाका पदाधिकारीहरूलगायतको सहभागीता थियो ।
कांग्रेस गौरीगंज गाउँपालिकाका सभापति अघनु प्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँकार्य समितिका सचिव गोपाल प्रसाद ताजपुरियाले गरेका थिए ।
