दमक, १९ चैत– लागु औषध तथा दुर्व्यसनी बिरुद्ध दमकमा आइतबार सडक नाटक नयाँ जीवन मञ्चन गरिएको छ । मौसम राना राईले निर्देशन गरेको नाटकलाई दक्षिणी इलामको चुलाचुली गाउँपालिकाको विभिन्न वडाहरुमा मञ्चन पश्चात आइतबार अपरान्ह दमक चौकमा नयाँ जीवनलाई मञ्चन गरिएको हो ।

नाटकमा आइते (नविन रिजाल) विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । उनी पठन–पाठनसंगै खेलकुदमा रुची राख्ने गर्छन् । उनले आफ्नी आमा (सुमन बराल) लाई फूटबल खेल्नका लागि जर्सी किन्न पैसा माग्छन् तर आमाले उल्टै गाली गर्छन् । पैसा त आफुसंग नभएको र बुबा विदेशमा पैसा कमाउन जानुभएको बताउछन् । तर, बुबाको पनि आम्दानी थौरै भएको बताएपछि आइतेको मन नराम्ररी दुःछ ।

एक दिन आइतेले खेलकुदबाट एउटा शिल्ड लिएर घरमा आमालाई देखाउदै भन्छ, मैले खेलमा पाएको विशेष सम्मान हो । म खेलमा अघि बढ्न चाहान्छु, मलाई केही हौसल्ला र सहयोग गर्नुहोस ।

गाउँकी सोझा एउटी गृहणी आमाले आइतेको भावना र मनोकाक्षालाई बुझ्न सक्दिन । अन्ततः आइते लागुऔषध प्रयोगकर्ता साथिहरुको संगतमा पर्छन् । त्यहि संगतको कारण आइते घरबाट विद्यालय जाने भनेर साथिहरुसंगै रमाउछन् । खान सिक्नछन् । खादै गएपछि उनको जीवनमा घरकी आमा, विद्यालय र खेल भन्दा लागुऔषध प्रयोगकर्ता साथिहरु नै महत्वपूर्ण लाग्छ । र, एक दिन उनीहरुले गाउँकै एउटा मन्दिरमा पसेर लुटपाट गर्छन् ।

स्थानीय प्रहरी चौकीले उनीहरुलाई पक्राउ गर्छ । चौकीमा हवल्दार (चेतना आचार्य) ले गाउँका सवैलाई कचहरीका निम्ति आमन्त्रण गर्छिन् ।

कचहरीमा विद्यालयका मास्टर ( दिपक खरेल) ले विद्यार्थीहरुले मन्दिरमा लुटपाट गर्यो भनेर आफुलाई विश्वास नलागेको बताउँछन् । उनले विद्यालयका असल र जेहेन्दार विद्यार्थीको रुपमा परिचित आइतेले यस्तो अपराध गर्ला भन्ने कल्पनासम्म नगरेको कचहरीमा बताएपछि वार्ड अध्यक्ष (मनिक शंकर) ले पक्राउ परेका व्याक्तिहरुलाई क्रमशः सोधपुछ गर्छन् ।

सोधपुछको क्रममा श्यामे (सन्दिप कुलुङ राई) र राजन (पुष्प राई) सहित आइतेले आ–आफ्नो कथाहरु सार्वजनिक गर्छन् । उनीहरु घरमा आमा बुबाले आफ्नो भावना र चाहानालाई नबुझिदिदाँ यस्तो कार्यमा आउन बाध्य भएको बताउँछन् ।

जानी नजानी यस्तो दलदलमा आएको बुझेपछि प्रहरी चौकीभित्रको कचहरीमा आइतेले आमालाई अंकमाल गर्छन् । उनले जीवनमा गरेका कुकर्म र आफ्नो कमीकमजोरीहरुलाई आमालाई देखाएर धुरुधुरु रुन्छन् । र नयाँ जीवन लिएर समाजमा पुर्नःस्थापित हुने कोशिष गर्दै अघि बढ्ने हिम्मत गर्छन् । र, नाटक समाप्त हुन्छ ।

नाटकको कथा जीवन वरालले लेखेका हुन् । नाटकको पटकथा दिपक खरेलको हो भने संगीत याङसाङ मुकारुङले गरेका छन् ।

नाटकमा सुमन बराल कुइँकेल, सुवास खरेल, नवीन रिजाल, चेतना आचार्य क्षेत्री, दिपक खरेल, मनिक शंकर, सन्दिप कुलुङ राई र पुष्प राई छन् ।

नाटकको समय ५० मिनेटसम्म सञ्चालन हुने निर्देशक मौसमन राना राईले बताए । राईद्धारा निर्देशन यो चौथो सडक नाटक हो ।

चुलाचुली भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रबद्र्धन समन्वय समितिले आयोजना गरेको नाटकलाई शब्द थिएटर, कदम थिएटर र चुलाचुली थिएटरले नाटकलाई सहकार्य गरेको छ । नाटकलाई चुलाचुली गाउँपालिकाले संरक्षकको भूमिका देखाएको छ ।

यसअघि, चुलाचुलीमा चैत १६  गतेदेखि  १९ गतेसम्म नाटक मञ्चन गरिएको निर्देशक राईले बताए । निर्देशक राईका अनुसार नाटकलाई चुलाचुली गाउँपालिकाले प्रयोजन गरेको हो । १६ गते माङतोक चौक, राधाकृष्ण टोल, तीनकुने पोखरी र जनता माध्यमिक विद्यालयमा, १७ गते मंगलसिद्धि बजार, किराँतेश्वर माध्यमिक विद्यालय, सातपत्रे टोल र आइतबारे बजारमा, १८ गते भानु माध्यमिक विद्यालय, शिखर कटेरी, र कुइनेटार खुँडीमा र १९ गते चुलाचुली गाउँपालिकाको काार्यलयमा नाटक प्रदर्शन गरिएको निर्देशक मौसम राना राईले जानकारी दिए ।

आइतबार, नाटक समापनमा गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले कला र संगीतको माध्यमबाट समाजमा देखिएका विकृती र विसंगतीलाई नियन्त्रण गर्न कलाकारहरुको प्रयोसलाई धन्यवादसहित शुभकामना व्यक्त गरे । उनले चुलाचुली गाउँपालिकाभित्र युवाहरु कुलतमा फसिरहेकोमा दुःख व्यक्त गरे । समाजबाट लागु औषध र यसको प्रयोगकर्तालाई पूर्णरुपले नियन्त्रण गर्न प्रहरी प्रशासन, शिक्षक, जनप्रतिनिधि, कुनै एक अभिभावकको एक्लो प्रयासले मात्रै सम्भव नभएकोले यस समस्यामाा सवै एकजुट भएर लाग्नु अध्यक्ष केरुङले आग्रह गर्नुभयो ।

सो क्रममा गाउँपालिकाकी उपाध्यक्ष दिलु लावतीले कलाकारहरुले कला वा सृजना मार्फत समाजलाई देखाएको चित्रणबाट युवा उमेरमा प्रवेश गर्दै गरेका विद्यार्थीहरु कुलततर्फ प्रवेश गरेको बताइन् । उनका अनुसार यो डरलाग्दो रुप हो, यसले समाजलाई कतातर्फ ढकेल्छ, चिन्ताको विषय भएको बताईन् ।

समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीको उपस्थिती थियो । सो अवसरबीच नाटकमा सहभागि कलाकारहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *