नेपालगञ्ज, २७ चैत–प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धनको सरकारले कुकर्म गरिरहेको आरोप लगाएका छन् । नेपालगञ्जमा आज युवा संघको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले राजनीतिक विचार नै नभएको वर्तमान गठबन्धन सरकारलाई निकम्मा सरकारको संज्ञा दिए ।
उनले पञ्चायत, राजतन्त्र ढाल्ने आफूहरू नै भएको र संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृति मौलाएको आरोप लगाए । ‘कुनै बेला पञ्चायत पनि थियो । तर हाम्रै अगाडि गर्ल्याम गुर्लुम्म ढल्यो । घाम रहुञ्जेल पञ्चायत रहन्छ भनिन्थ्यो । हामीले केही समयपछि नै ढल्छ भन्यौं । हामीले निरंकुश रातन्त्र पनि ढल्छ भनेका थियौं । त्यो पनि समाप्त भयो ।
आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ । यसमा पनि कतिपय विकृतिहरू आएको छ । गठे संस्कृत, यो गठबन्धनको संस्कृति । जसमा राजनीति छैन, विचार छैन । जेसुकै भए पनि जस्तो भए पनि एउटा निकम्मा सरकार बनाउनु पर्ने र कुकर्म गर्नुपर्ने स्थिति बनाएको छ,’ उनले भने ।
उनले गठे संस्कृतिले नै देश आरोलो लगाएको बताए । उनले एमाले नेतृत्वको सरकारले देशलाई सही दिशार्फ लगेको दाबी गरे । उनले आफू प्रधानमन्त्री हुँदा देशमा विकासको मूल फुटेको बताए । उनले एमालेले काम गर्न सकिन्छ भनेर देखाएको बताए ।
