दमक, २५ बैशाख–नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पुर्याएका खबरले अहिले नेपाली मिडिया तथा संसद् तातेको छ। सरकारले उक्त प्रकरणको छानबिन गरिरहेको अवस्थामा भुटानी शरणार्थी भएको अचम्ममा परेका छन् ।
दर्ता भएका तथा दर्ता हुनबाट छुटेका गरी करिब ९ हजार भुटानी शरणार्थी अहिले मोरङको शनिश्चरे तथा झापा दमकको बेलडाँगी शिविरमा बसोबास गर्दै आएका छन् ।

युनएनएससीआर तथा अन्य दातृ निकायले दिने सेवा पनि अहिले दिन छाडेको छ। उनीहरूको शिक्षा तथा स्वास्थ्यको जिम्मेवारी अहिले स्थानीय तहले लिएको छ ।

सोमबार बिहान बेलडाँगी शिविर पुग्दा शिविर सचिव टिबी राईले आफू दुई चार दिनदेखि नक्कली शरणार्थी प्रकरणका समाचार मिडियामा आएको देख्दा वा सुन्दा अचम्ममा परेको सुनाए ।

उनले भने, ‘यस्तो कुरा सुन्दा-पढ्दा दुःख लाग्छ। सत्य कुरा के हो भन्ने कुरा उहाँहरूलाई नै थाहा होला। छानबिन भइरहेकै होला। तर यति चाहिँ हो, जो–जो नक्कली शरणार्थी बन्नु भयो, उहाँहरूलाई के नपुग्दो थियो र । आखिर पैसा नै खर्च गरिएको रहेछ ।’

मान्छे भएर पनि आफूहरूले मान्छेको जस्तो इज्जत नपाएकाले कसैले पनि शरणार्थी बन्नु नपरोस् भन्ने चाहना आफूहरूसँग रहेको राईले बताए ।

राईले भने, ‘हामी यहाँ शरणार्थी, धनाढ्यहरू विदेशमा शरणार्थी। राष्ट्र र राष्ट्रियता के हो भन्ने कुरा हामीलाई सोध्नु। देशको माया कति छ भन्ने कुरा हामीलाई थाहा छ। अनि, आफ्नो देश सुरक्षित हुँदाहुँदै पैसा खर्च गरेर शरणार्थी भएर अर्काको देश किन जानुपर्यो ?’

बेलडाँगी शिविरमा सानो पसल चलाएर गुजारा गर्दै गरेकी दुर्गामाया बिष्टले आफ्नो जग्गा जमिन बेचेर नक्कली शरणार्थीको ‘बिल्ला’ भिर्ने काम जस्ले गरे पनि यो अमानवीय काम भएको बताइन् ।

बिष्टले भनिन्, ‘आफ्नो यत्रो सम्पत्ति हुँदा पनि मान्छेलाई लोभले नक्कली शरणार्थी बनाउँदो रहेछ । आफ्नो देश हुँदा पनि यत्रो पैसा खर्च गरेर अर्काको देश किन जानुपर्योरु हामी साँच्चैका शरणार्थी चाहिँ खोलाको बगरमा ताता घाममा दुःख गर्नुपरेको छ । हुनेखानेलाई चाहिँ शरणार्थी हुनुपर्ने रे। अचम्मै लाग्छ ।’

भुटानी शरणार्थी शिविरमा अहिले वृद्ध-वृद्धा, अपांगता भएका तथा कमाएर खान नसक्नेहरू बस्ने गरेका छन्। तेस्रो देश पुनर्स्थापनाको कार्यक्रम अहिले स्थगित छ । कतिपयका छोरा-छोरी अमेरिकालगायत मुलुक पुगिसके पनि बाबु-आमा शिविरमा छन्। परिवार विखण्डित छ ।

बिष्ट भन्छिन्, ‘हाम्रा छोरा–छोरी संसारको पल्लो कुनामा छन् । हामी यहाँ छौँ। हाम्रो कुरा चाहिँ सुन्दैन सरकार । अनि क–कसलाई हो, शरणार्थी बनाएर अमेरिका पठाउँछ ।’

कतिपय शरणार्थीले भने भुटान फर्कन चाहनेहरूको मागलाई सरकारले सम्बोधन नगरेको र भुटानसँग वार्तासमेत नगरेको गुनासो छ । बेलडाँगी शिविरका डुकबहादुर बिष्टले आफूलगायत धेरैको यही माग सरकारले सम्बोधन नगरेर अनेकौं नेपाली नागरिकलाई शरणार्थी बनाएर विदेश पठाएको बताए ।

देशदेशान्तर 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *